कोटेश्वर चोक सुधारका लागि नेपाल–जापानबिच ३१ अर्ब बढी ऋण सम्झौता

लोकपथ
280
Shares

काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि करिब ३१ अर्ब ७६ करोड रुपैयाँ बराबरको ऋण सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको समुपस्थितिमा बुधबार अर्थ मन्त्रालयमा आयोजित विशेष समारोहमा उक्त सम्झौता सम्पन्न गरिएको हो ।

जाइकामार्फत प्राप्त हुने ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष तथा वार्षिक ०.२ प्रतिशत ब्याजदर रहनेछ । ऋण सहयोग अन्तर्गत कोटेश्वर तथा जडीबुटी क्षेत्रमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौं, ललितपुर, भक्तपुर र विपि राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ । यसले दीर्घकालीन रूपमा ट्राफिक जाम न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्ने बताइएको छ ।

सम्झौतासँग सम्बन्धित एक्सचेञ्ज अफ नोटिसमा अर्थ सचिव डा.घनश्याम उपाध्याय र नेपालस्थित जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे । त्यस्तै ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह–सचिव डा.धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुजीबिच हस्ताक्षर भयो ।

कार्यक्रममा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागका अधिकारीहरूसहित जापानी दूतावास र जाइका नेपालका वरिष्ठ प्रतिनिधिहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?