अनुमान नगरेका ठाउँमा पनि बजेट खर्च गर्नुपरेको छ : अर्थसचिव उपाध्याय

लोकपथ
329
Shares

काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको क्रममा सरकारलाई अनुमान नगरेका क्षेत्रमा समेत खर्च गर्नुपरेको बताएका छन् । 

बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले २२, २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिले आकस्मिक खर्च बढेको जानकारी दिए।

उनका अनुसार जेनजी आन्दोलनअघि नै बजेट विनियोजन भइसकेकाले आन्दोलनपछि सिर्जित अव्यवस्थित परिस्थितिलाई सम्हाल्न सरकारले अतिरिक्त स्रोत परिचालन गर्नुपरेको हो ।

सचिव उपाध्यायले भने, ‘२२ र २३ गतेको आन्दोलनपछि अनुमान नगरेका नयाँ क्षेत्रमा बजेट खर्च गर्नुपरेको छ। अहिले पनि विभागहरू क्षति पुगेका अवस्थामै छन्, तर सार्वजनिक सेवा सुचारु गर्न सरकार निरन्तर खटिरहेको छ ।’

उपाध्यायका अनुसार जेनजी आन्दोलनका क्रममा अधिकांश सरकारी संरचना, गाडी, फर्निचर, कम्प्युटर र कागजातहरू नष्ट भएका थिए । यद्यपि, प्रभावित विभागहरूमा आवश्यक टेन्डर प्रक्रिया र सेवा आपूर्तिका कार्यहरू निरन्तर अघि बढिरहेको उनले स्पष्ट पारे ।

अर्थ सचिवले नतिजामुखी विकासका काममा कर्मचारीहरू निरन्तर सक्रिय रहेको उल्लेख गर्दै विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन प्राथमिक रूपमा विषयगत मन्त्रालयहरूको जिम्मेवारी हुने बताए । 

मन्त्रालयहरूलाई सहजीकरण गर्न अर्थ मन्त्रालयले दैनिक समन्वय, छलफल र आवश्यक रकमान्तर तथा कार्यक्रम संशोधनका कार्यहरू अघि बढाइरहेको उनले जानकारी दिए । उनका अनुसार हाल सचितकोष २३६ अर्ब घाटामा छ ।

त्यस्तै, आउँदो निर्वाचनका लागि ४९६ करोड रुपैयाँको बजेटबारे सहमति भइसकेको र सुरक्षा निकायसम्बन्धी बजेटका विषयमा पनि छलफल भइरहेको उपाध्यायले समिति बैठकलाई जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?