बुल्गेरियाबाट हतियारसहितको कार्गो नेपाल आएको विषयमा सरकारसँग जवाफ माग

लोकपथ
2.4k
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले बुल्गेरियाबाट हतियारसहितको कार्गो विमान नेपाल आएको भन्दै सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् । 

बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले उक्त विषय सार्वजनिक रूपमा चर्चा भइरहेकाले छानबिनसहित सरकारको आधिकारिक प्रतिक्रिया आउनुपर्ने बताए ।

जेनजी आन्दोलनको घटनालाई उठाउँदै विश्वकर्माले भदौ २४ गते आन्दोलनमा घुसपैठ गरी विध्वंसत्मक गतिविधि गरेको आरोप लागेका टिओबी समूहसँग आबद्ध नक्कली नागरिकता भएकालाई तत्काल डिपोर्ट गर्नुपर्ने माग समेत गरे । उनले भारतबाट आउने पेट्रोल पाइपलाइनकै सहज आपूर्ति छँदा कमिसनको नाममा सवारीमार्फत ढुवानी बढेको दाबी गर्दै यसमा सरकारको ध्यानाकर्षण गराए ।

‘बजारमा व्यापक चर्चा भएको हतियारसहितको कार्गो नेपाल भित्रिएको भन्ने विषय छ । यसको सत्य तथ्य के हो ? सरकारले तुरुन्तै स्पष्ट खुलासा गर्नुपर्छ,’ विश्वकर्माले भने । साथै, कृषि मल खरिदका लागि ठुलो बजेट व्यय भइरहेको भए पनि नेपालले ५० करोड रुपैयाँमा मल कारखाना स्थापना गर्न नसक्नु विडम्बना भएको टिप्पणी गरे ।

त्यसै गरी, राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले सरकार परिवर्तन मात्र पर्याप्त नहुने भन्दै प्रशासन तन्त्रमा आमूल सुधार आवश्यक भएको बताए । उनले प्रधानमन्त्री र मन्त्रीहरू जनताप्रति गम्भीर रहेको विश्वास भए पनि सेवा प्रवाहमा देखिएको सुस्तता निराशाजनक रहेको उल्लेख गरे ।

‘सात दिनमै गर्न सकिने काम सात महिनासम्म अड्किनु हुँदैन । कर्मचारीतन्त्रमा सुधार बिना विकास सम्भव छैन,’ सुनारले भने । उनले राष्ट्र निर्माणका लागि सबै तहका नेतृत्व एक भएर काम गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?