अमेरिकाले १९ गैरयुरोपेली देशका नागरिकको ग्रीनकार्ड र नागरिकता प्रक्रिया रोक्यो

लोकपथ
714
Shares

काठमाडौं । अमेरिकाले मंगलबारदेखि १९ वटा गैरयुरोपेली देशका नागरिकलाई ग्रीनकार्ड र नागरिकताका लागि आवेदनमा रोक लगाएको छ । यस निर्णयले हजारौँ आप्रवासीको भविष्य अनिश्चित बनाएको छ । 

रोक लगाएका देशहरूमा लाओस, सेइरा लियोन, टोगो, अफगानिस्तान, बुरूण्डी, क्युबा, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, लाओस, सेइरा लियोन, टोगो, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, तुर्कमेनिस्तान र भेनेजुएला समावेश छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डीसीमा नेशनल गार्डका सुरक्षाकर्मीमाथि गोली प्रहार भएको घटनापछि यी देशबाट ग्रीनकार्ड लिएका व्यक्तिहरूको पुनरावलोकन गर्न निर्देशन दिएकोमा मंगलबारदेखि नै यो कलम चालिएको हो । अब ती देशका नागरिकले ग्रीनकार्ड र नागरिकताका लागि दिएको आवेदनबारे थप प्रक्रियामा रोक लगाउने र नयाँ आवेदन पनि नलिने निर्णय भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

ट्रम्प प्रशासनले अमेरिकी सुरक्षामा जोखिम रहेको भन्दै यी मुलुकलाई यसअघि नै यात्रा प्रतिबन्धको सूचीमा राखेको थियो । प्रतिबन्ध लगाइए पनि अमेरिकामा रहेका धेरै व्यक्तिहरूले ग्रीनकार्ड र नागरिकताको प्रक्रिया अघि बढाइरहेका थिए । कतिपय अन्तिम चरणमा पुगेका थिए । 

अमेरिकी अध्यागमन कार्यालयले ग्रीनकार्डका प्राप्त गर्न लागेका व्यक्तिहरूमाथि आवश्यक परे पुनः अन्तर्वार्ता लिन सकिने र अहिले भने ती सबै आवेदन होल्डमा राखिएको जनाइएको छ । ट्रम्प प्रशासनको यो निर्णयले त्यस्ता व्यक्तिहरू ग्रीन कार्ड प्राप्त गर्ने अवसरबाट वञ्चित भएका छन् । उनीहरूको कागजात पुनः परीक्षण र फेरि अन्तर्वार्ता भएपछि मात्रै ग्रीन कार्डका लागि विचार गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?