समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

लोकपथ
28
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य हासिल गर्न अपाङ्गता भएका व्यक्तिको अपनत्व, नेतृत्व र सहभागितालाई शासन व्यवस्थाको मूल धारमा ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई सरकारको प्राथमिकतामा राखिएको स्पष्ट गरेकी छन् ।

उनका अनुसार अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, पुनःस्थापना तथा सर्वसाधारण सेवामा सहज पहुँच सुनिश्चित गर्न तीनै तहका सरकार क्रियाशील छन् । 

आर्थिक सामाजिक अवस्था र अपाङ्गताको गम्भीरताका आधारमा सेवा सुविधामा प्राथमिकता दिने नीति अवलम्बन गरिएको उनले सन्देशमा उल्लेख गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले अपाङ्गता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, सञ्चार तथा कानुनी अवरोध हटाई सबै प्रकारका अपाङ्गताको अभिमुखीकरण भएको पहुँचयुक्त र सम्मानजनक वातावरण निर्माण गर्नु आजको आवश्यकता रहेको बताइन् ।

‘अपाङ्गता रोकथाम, पुनःस्थापना, रोजगारी तथा स्वरोजगारका कार्यक्रमलाई तीन तहका सरकारको संयुक्त प्रयासले अघि बढाए अपेक्षित उपलब्धि हासिल गर्न सकिन्छ,’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

उनका अनुसार नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि तथा विद्यमान कानुनहरूले अपाङ्गता भएका व्यक्तिको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारलाई समग्र रूपमा सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री कार्कीले अपाङ्गता क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संस्था, सरोकारवाला तथा अभिभावक सबैलाई अपाङ्गता भएका व्यक्तिको हक, हित, अधिकार र संरक्षणका लागि अझ प्रभावकारी रूपमा काम गर्न प्रेरणा मिलोस् भन्ने कामना पनि गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?