काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । यसका लागि प्रदेशसभाको बैठक बिहान ८ः३० बजे बस्ने गरी समय निर्धारण गरिएको छ ।
मुख्यमन्त्री यादवले बुधबार दिउँसो २ बजे बैठक बोलाउन प्रदेशसभामा पत्र पठाएका थिए । तर एमालेबाहेकका दलहरूको सर्वदलीय बैठकले समय परिवर्तन गर्दै बिहानै ८ः३० बजे बैठक आह्वान गर्ने निर्णय गरेको हो । प्रदेशसभा सचिवालयका अनुसार सो निर्णयअनुसार सूचना सबै सदस्यसम्म पठाइसकिएको छ ।
उपसभामुख बबिता राउत ईश्वरको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले आज बिहान ७ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बस्ने गरी निर्णय गरेको छ ।
यसैबिच, सर्वोच्च अदालतले सोमबार मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि आजको बैठक अत्यन्तै महत्त्वपूर्ण बनेको छ । आदेशको औपचारिक प्रति नपाएको भन्दै उनले प्रदेशसभाबाट नै आदेशको प्रति ल्याई प्रक्रिया अघि बढाउन पहल भएको बताएका छन् ।
विश्वासको मत प्रक्रियाले प्रदेश सरकारको भविष्य निर्धारण गर्ने भएकाले आजको बैठकमा सबैको ध्यान केन्द्रित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया