काठमाडौं । कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा एउटै व्यक्ति झन्डै ६ वर्षदेखि लगातार लेखा प्रमुखमा कार्यरत रहेको पाइएको छ । अन्य लेखा प्रमुखलाई बढीमा दुई वर्ष एउटै कार्यालयमा राखिएको भएपनि स्कुलकी लेखा प्रमुख सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ भने झन्डै ६ वर्षदेखि त्यहाँ कार्यरत छिन् ।
शैलेन्द्र खनाल सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) हुँदा सो स्कुलको लेखा सम्हालेकी गुरुङ खनालपछि दुई जना आईजीपी परिवर्तन भएपनि त्यहीँ कार्यरत छिन् । खनालको पालामा दुई वर्ष लेखा प्रमुख भएकी गुरुङ वर्तमान आईजीपी राजु अर्यालको चार वर्ष कार्यकाल सकिन पाँच महिना बाँकी रहँदा पनि त्यहीँ कार्यरत छिन् ।
सशस्त्र प्रहरी नायव निरीक्षक (सई) हुँदा एपीएफ स्कुलको लेखा सम्हालेकी गुरुङ अहिले सशस्त्र प्रहरी निरीक्षकमा बढुवा भइसकेकी छिन् ।
विगतमा कार्यदल र नम्बर २० गण सिनामंगलको समेत लेखा प्रमुखको जिम्मेवारी बहन गरिसकेकी गुरुङलाई लामो समयदेखि एउटै कार्यालय र काठमाडौं उपत्यकाभित्रै राखिएको भन्दै लेखा उपसमूहका अधिकृतहरू नै अचम्ममा परेका छन् ।
लेखा समूहका एक अधिकृत भन्छन्, ‘हामीले चाहिँ पटक पटक काठमाडौं उपत्यका छाड्नुपर्ने, गुरुङले चाहिँ लगातार काठमाडौं, अनि एउटै कार्यालयमा ६–६ वर्षसम्म बस्न पाउनु पर्ने ?’
रोचक यो छ कि, सशस्त्र प्रहरीका जवानदेखि अधिकृतहरू एफपीयु मिसनमा आफ्नो पालो कहिले आउँछ भनेर कुरिरहेको बेला सशस्त्र प्रहरी निरीक्षक गुरुङ भने मिसनमा पनि आफ्नो नाम काटेर लेखा अधिकृतमै रमाइरहेकी छिन् ।
पछिल्ला दिनमा एपीएफ स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई प्रदान गरिने खाना (रासन) को गुणस्तर घटाइएको आरोप पनि उनीमाथि लागेको छ । रासनको गुणस्तर घटाएर कल्याण कोषबाट छुट्याइएको रकमको दुरुपयोग गरिरहेको जानकारी पनि प्राप्त भएको छ । यस कार्यबाट मेस सचिव/क्वार्टर मास्टरको मिलेमतोमा दैनिक करिब २० हजार रुपैयाँ अनियमितता भइरहेको पनि सशस्त्र मुख्यालयमा उजुरी परेको छ ।

एपीएफ स्कुलकी लेखा अधिकृत गुरुङ बासुदेव ओली र सनतकुमार बस्नेत आईजीपी हुँदा केन्द्रीय लेखामा कार्यरत थिइन् । सशस्त्र प्रहरीमा भएको अनियमिततामा चार जना पूर्वआईजीपीलाई अख्तियारले मुद्दा चलाउँदा गुरुङलाई पनि मुद्दा चलाइएको थियो ।
सिंहबहादुर श्रेष्ठ सशस्त्र प्रहरी महानिरीक्षक हुँदा लेखा शाखाको स्टोरमा आगजनी भएको थियो । प्रमाण नष्ट गर्न आगो लगाइएको चर्चा त्यसबेला चलेको थियो ।
नेपाल एपीएफ स्कुललाई सशस्त्र प्रहरीको मानवस्रोत विभागअन्तर्गत राखिएको छ । स्कुलको अध्यक्षमा अहिले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल छन् । स्कुलको राशनमा भएको अनियमितताबारे आँखा चिम्लिएको आरोप उनीमाथि पनि लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया