काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा–कप्तानगञ्ज (२२.६६ किमि) सडक निर्माणको ठेक्का रद्द गरिएको छ । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार ठेक्का तोडिएको सूचना सार्वजनिक गरेको हो ।
गौरीपार्वती–देव एण्ड सायर जेभीसँग २०७८ माघ २ गते ५२ करोड ७० लाख रुपैयाँमा सम्झौता भएको यो परियोजना २०८१ साउनभित्र सक्नुपर्ने थियो । तर तीन वर्ष बित्दा पनि काम १८ प्रतिशत मात्रै भएपछि र पटक–पटक ताकेता गर्दा पनि प्रगति नदेखिएपछि ठेक्का रद्द गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सम्झौताभन्दा करिब ५० प्रतिशत कम लागत कबोल गरेर काम लिएको कम्पनीले उचित रूपमा काम अगाडि बढाएन र साइटसमेत ठप्प बनायो ।
ठेक्का रद्द भएपछि कम्पनीको १६ करोड ९४ लाख रुपैयाँ कार्य सम्पादन जमानत र २ करोड ३१ लाख रुपैयाँ पेस्की रकम (१० प्रतिशत ब्याजसहित) जफत गरिने भएको छ । साथै कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने तयारी पनि भएको कार्यालयले जनाएको छ ।
यसअघि साउनमा ‘ठेक्का किन नतोड्ने ?’ भनी १५ दिने स्पष्टीकरण मागिएको थियो । निर्माण कम्पनीको स्पष्टीकरण सन्तोषजनक नभएपछि सार्वजनिक खरिद ऐनअनुसार ठेक्का समाप्त गरिएको हो ।
अब १५ दिनभित्र कार्यालयमा उपस्थित भएर भएका र बाँकी कामको नाप जाँच तथा वित्तीय समायोजन गर्न भनिएको छ । कम्पनी नआएमा कार्यालयले स्वयं नाप जाँच गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया