काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेखनीय सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार यो अवधिमा विप्रेषण ३५.४ प्रतिशतले वृद्धि भई पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण वृद्धि ११.९ प्रतिशतमा सीमित थियो । चालु आवको पहिलो महिनामा (साउन) विप्रेषण २९.९ प्रतिशतले बढेर एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ पुगेको थियो भने भदौमा वृद्धि दर ३३.१ प्रतिशत थियो ।
विप्रेषण वृद्धि भएपछि चालु खाता तथा शोधनान्तर दुवै सूचकांक सकारात्मक बनेका छन् । पहिलो त्रैमासमा चालु खाता दुई खर्ब ३७ अर्ब ५९ करोड रुपैयाँ र शोधनान्तर दुई खर्ब ६४ अर्ब तीन करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
उता, बाह्य व्यापारतर्फ भने घाटा थपिएको छ । पहिलो तीन महिनामा कूल व्यापार घाटा १२.२ प्रतिशतले बढेर तीन खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।
त्यसैगरी, यस अवधिमा वस्तु निर्यात ८९.६ प्रतिशतले बढ्दै ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ भने वस्तु आयात १९.८ प्रतिशतले वृद्धि भई चार खर्ब ६८ अर्ब आठ करोड रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया