कठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुसको अन्तिम साता नियमित महाधिवेशन गर्ने पार्टी केन्द्रीय समितिको निर्णयमा शंका गरेको छ ।
कांग्रेसको आज सम्पन्न केन्द्रीय समिति बैठकले आगामी पुस २६ देखि २८ गतेसम्म नियमित केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो । पार्टीको उक्त निर्णयबारे धारणा सार्वजनिक गर्दै विशेष महाधिवेशन पक्षधरले त्यसलाई स्वागत गरे पनि पूर्ण रुपमा विश्वस्त हुन सक्ने आधार नरहेको जनाएको छ ।
‘केन्द्रीय समितिले प्रस्ताव गरेको पुस २६–२८ को महाधिवेशन मिति पूर्व पार्टीका विभिन्न संरचनाका लागि विभिन्न चरणमा गरिएको कार्यतालिका प्रथम दृष्टिमै अव्यवहारिक र अवैज्ञानिक रहेकोे देखिन्छ,’ विज्ञप्तिको अघि भनिएको छ, ‘एकातिर देश गम्भीर राजनीतिक संकटको भूमरीमा फसिरहेका बेला पनि केन्द्रीय समिति मौन बस्नु, अर्कोतिर असोज २८ मा सुरु भएको बैठकलाई अनावश्यक रुपमा मंसिर १५ सम्म लम्ब्याएर उलपब्ध एक महिना १८ दिन खेल फालियो । अन्ततः विशेष महाधिवेशनको माग गरिएको हस्ताक्षरको दबाब स्वरुप १५औँ माहाधिवेशनको कार्यतालिका सार्वजनिक भएकोमा हामीले यसलाई सकारात्मक उपलब्धीका रुपमा लिएका छौँ ।’
त्यसो त विशेष महाधिवेशन पक्षधरले माघको मसान्तभित्र केन्द्रीय समितिको समयावधि लम्ब्याउनुको कारणमा शंका गरेको छ । वर्तमान केन्द्रीय समितिकै समयावधिलाई माघको मसान्तसम्म लम्ब्याउनुको कारण कतै नियमित महाधिवेश नगर्नु त रहेको होइन ? भन्दै प्रश्न गरेको छ ।
‘माघ मसान्तसम्म केन्द्रीय समितिको समयावधि थप्नुको कारण के हो ? यसले समयमै अधिवेशन सम्पन्न हुँदैन भन्ने संसयलाई आधार दिएको छ । यस बिच हुने आम चुनावका विभिन्न सिफारिसहरुको अवस्था के हुन्छ ? यसको निष्पक्षता र वैधताको आधार के हो ? यसलाई गम्भीरतापूर्वक हेरिरहेका छौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया