बालेनका पिता रामनारायणको पशुपति आर्यघाटमा अन्त्येष्टी

लोकपथ
238
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का पिता डा. रामनारायण शाहको अन्त्येष्टी गरिएको छ ।

सोमबार अपरान्ह शाहको उपचारका क्रममा निधन भएको थियो ।

पिसावमा समस्या देखिएपछि उपचारका लागि आइतबार बिहान नयाँ बानेश्वरस्थित निजामती अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । शाहको सघन उपचार कक्षमा उपचाररत अवस्थामा आज दिउँसो १२ बजेर २० मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

उनले, लामो समयदेखि मधुमेह र पिसाब सम्बन्धी समस्या झेलिरहेका थिए ।

स्व. शाहको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गर्न उपसभामुख इन्दिरा राना मगर, सञ्चारमन्त्री जगदिश खरेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ्, खेलकुद मन्त्री बब्लु गुप्ता, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन आर्यघाट पुगेका थिए ।

महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, विषयगत समितिका संयोजकहरु, कार्यपालिका सदस्यसहित जनप्रतिनिधि र कर्मचारी अस्पताल पुग्नुभएको थियो । त्यसपछि अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट पुगेका थिए ।

श्रद्धाञ्जलीका लागि आर्यघाटमा कलाकारहरु तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

स्व. शाहको जन्म २००६ साल कार्तिक २० गते महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा भएको हो । ४ दाजुभाइ र १ जना बहिनीमध्येको उनी जेठो सन्तान हुन् ।

उनका ४ जना छोरी र २ जना छोरा रहेका छन् । उनीहरुमध्ये प्रमुख शाह कान्छो छोरो हुन् ।

सरकारी सेवामा डा. शाह अब्बल आयुर्वेद चिकित्सक रहेका थिए । २०४३ सालमा सरकारी सेवामा प्रवेश गरेपछि उनले आयुर्वेद र वैकल्पिक चिकित्सा क्षेत्रको विकासका पुर्‍याएको योगदान स्मरण योग्य छ । उनले आयुर्वेद विभागमा महानिर्देशक, सिंंहदरबार वैद्यखानाको प्रबन्ध निर्देशक जस्ता महत्वपूर्ण जिम्मेवारीमा रहेर सेवा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?