काठमाडौं । आफूसँग प्रशस्तै नगद मौज्दात छ, तर पनि कसैले बैंकबाट ऋण लिएको देखाएर किन ब्याज तिर्छ होला ? सहज उत्तर छ आफूसँग नगद हुँदाहुँदै बैंकबाट ऋण लिएको देखाएर ब्याज रकम कसैले तिर्दैन । तर एक व्यापारिक घरानाले भने यस्तै गरेको पाइएको छ । आफूसँग ८ करोड रुपैयाँभन्दा बढी नगद मौज्दात हुँदाहुँदै पनि बैंकबाट लिएको ऋणको ब्याज भन्दै नोक्सानी देखाएर कर छल्न खोजेपछि एक व्यापारिक घरानालाई ठुला करदाता कार्यालयले आयकर छलीमा कर र जरिवाना गराएको पाइएको छ ।
त्यो व्यापारिक घराना हो, केल एल दुगड समूहको सौरभ फुड प्रोडक्टस् प्रालि । सौरभ फुड प्रोडक्टस् प्रालिले आर्थिक वर्ष २०७७।०७८ मा आयकर छली गर्नका लागि आफूसँग नगद राखेको देखाएर बैंकको ऋण भन्दै ब्याज तिरेको देखाएको पाइएको छ । त्यति मात्रै होइन, एउटै रकमलाई प्रत्येक वर्ष नोक्सानीमा देखाएर कर छल्ने प्रपञ्च रचिएको समेत पाइएको छ ।

ज्ञान ब्रान्डमा विभिन्न खाद्यान्नको उत्पादन तथा विक्री वितरण गर्दै आएको केएल दुगड समूह अन्तरगतको सौरभ फुड प्रोडक्टस् प्रालिले आर्थिक वर्ष २०७७।०७८ मा कुल २ करोड २१ लाख २० हजार ९९८ रुपैयाँ २१ पैसा आयकर छली गरेको भन्दै उक्त रकम तिर्न ठुला करदाता कार्यालयले पुनः कर निर्धारण गरेको हो । ठुला करदाता कार्यालयले गरेको कर निर्धारणमा केल एल दुगड समूहको सौरभ फुड प्रोडक्टस् प्रालि राजश्व न्यायाधिकरण काठमाडौंमा पुनरावेदनका लागि गएको भएपनि राजश्व न्यायाधिकरणले अधिकांश विषयमा ठुला करदाता कार्यालयकै निर्णयलाई सदर गरिदिएको छ । यससँगै के एल दुगड समूहको सौरभ फुड प्रोडक्टस् प्रालिले कर छली गरेको अदालतबाट ठहर भएको छ ।
के हो दुगडको आयकर छली प्रकरण ?
के एल दुगड समूहको सौरभ फुडले आर्थिक वर्ष २०७७।०७८ को अडिट रिपोर्ट ठुला करदाता कार्यालयमा बुझाउँदै आफूले तिर्नुपर्ने कर रकमसहितको प्रतिवेदन बुझायो ।
सौरभ फुडले २०७८ पुस २९ गते ठुला करदाता कार्यालय, हरिहरभवन पुल्चोकमा बुझाएको कर विवरणमा आर्थिक वर्ष २०७७।०७८ मा तिर्नुपर्ने करमा छली गर्नका लागि तिर्नुपर्ने रकमभन्दा कम देखाएको र खर्च कट्टी गर्न नमिल्नेमा समेत खर्च कट्टी गरेको प्रारम्भिक अनुसन्धानमा देखियो । त्यसपछि फुल अडिट गर्दा सौरभ फुडले पेस गरेको आय व्यय विवरणमा उसले तिर्नुपर्ने रकमभन्दा २ करोड २१ लाख २० हजार ९९८ रुपैयाँ २१ पैसा कम देखाएको पाइयो । सौरभ फुडले आफ्नो हिसाब देखाउँदा तिर्नुपर्ने रकममा उद्योगतर्फ ६१ लाख २५ हजार ४८२ रुपैयाँ ६१ पैसा र व्यवसायतर्फ १ करोड ५९ लाख ९५ हजार ५१५ रुपैयाँ ६० पैसा करयोग्य आम्दानी कम देखाएर कर छली गरेको देखियो ।

ठुला करदाता कार्यालयले फुल अडिट गरी संशोधित कर निर्धारण गरी २०७९ वैशाख २२ गते २ करोड १७ लाख ४७ हजार ५७७ रुपैयाँ २८ पैसा कायम गरी रकम तिर्नु नपर्ने भए प्रमाणसहित लिएर आउन भन्यो ।
ठुला करदाता कार्यालयले संशोधित कर निर्धारण गर्दा आयकर ऐन, २०५८ बमोजिम समावेश गर्नुपर्ने आय समावेश नगरिएको, कट्टी गर्न नपाइने खर्च दाबी गरिएको लगायतबाट उद्योगतर्फ ८३ लाख ५० हजार ९१५ रुपैयाँ ३२ पैसा र व्यवसायतर्फ १ करोड ३३ लाख ९६ हजार ६६१ रुपैयाँ ९६ पैसा कायम भयो । र, रकम तिर्न आउन पत्र दियो ।
जवाफमा सौरभ फुडले आफूहरूले गरेको हिसाब नै सही भन्दै रकम तिर्नु नपर्ने जिकिर गर्यो ।
त्यसपछि ठुला करदाता कार्यालयले २०७९ जेड १८ गते छली भएको कर, त्यसमा लाग्ने ब्याज र जरिवाना रकम समेत सबै जोडेर
उद्योगतर्फ ८३ लाख ५० हजार ९१५ रुपैयाँ ३२ पैसा र व्यवसायतर्फ १ करोड ३३ लाख ९६ हजार ६६१ रुपैयाँ ९६ पैसा गरी कुल २ करोड १७ लाख ४७ हजार ५७७ रुपैयाँ २८ पैसा कर तिर्न आउन भन्यो ।
तर आफूहरूले थप कर तिर्न नपर्ने भन्दै सौरभ फुड प्रोडक्टस् प्रालि २०७९ असार १२ गते आन्तरिक राजश्व विभागका महानिर्देशकसमक्ष प्रशासकीय पुनरावलोकनका लागि भन्दै निवेदन दियो ।
प्रशासकीय पुनरावलोकनका लागि निवेदन परेको १ वर्षपछि २०८० असार ३१ गते आन्तरिक राजश्व विभागले ठुला करदाताको निर्णय नै सही भएको भन्दै सदर गरिदियो र सौरभ फुड प्रोडक्टस् प्रालिले उक्त रकम तिर्नै पर्ने भनियो ।
तर कर तिर्नबाट उम्किन खोजेको सौरभ फुडले त्यस निर्णयको विरुद्ध राजश्व न्यायाधिकरणमा जाने निर्णय लियो । सौरभ फुड प्रोडक्टस् प्रालिले २०८० असोज १६ गते पुनरावेदनका लागि राजश्व न्यायाधिकरण काठमाडौंमा निवेदन दिएपछि यसले मुद्दाको रूप लियो ।

त्यसपछि पेसीमा चढेको यस मुद्दामा राजश्व न्यायाधिकरण काठमाडौंले करिब २ वर्षपछि २०८२ जेठ १९ गते फैसला सुनाउँदै के एल दुगड समूहको सौरभ फुड प्रोडक्टस् प्रालिले आर्थिक वर्ष २०७७।०७८ मा कर छली गरेको ठहर गर्दै अधिकांश रकम तिर्नुपर्ने फैसला सुनायो । न्यायाधिकरणले कर्मचारीको अवकाश कोषमा पठाइएको रकम कट्टा गर्न नपाउने भन्ने ठुला करदाता कार्यालयको निर्णय उल्टाए पनि अन्य निर्णय भने सदर गरिदियो । जसबाट सौरभ फुडले राज्यलाई करिब २ करोड रुपैयाँ तिर्नै पर्ने फैसला सुनाइयो । यद्यपि फैसलामा नियतवश कर तिर्न नखोजिएको हो कि प्राविधिक कारणले करमा कमी आएको हाे यकिन नगरी शत प्रतिशत जरिवाना लगाउन नहुने भन्दै त्यस्तो जरिवानासमेत मिनाहा हुने गरी फैसला सुनाएको छ ।
बढी नोक्सानी दाबी लिएको प्रकरणमा फैसलामा के भनियो ?
राजश्व न्यायाधिकरण काठमाडौंका अध्यक्ष न्यायाधीश ब्रजेश प्याकुरेल तथा राजस्व सदस्य हरि प्रसाद तिमल्सिना र लेखा सदस्य वासुदेव खनालको इजलासमा फैसला सुनाउँदा अघिल्लो वर्ष नै मिलान भइसकेको नोक्सानी फेरि पनि देखाएर कर छली गरिएको ठहर गर्दै उक्त रकम तिर्नुपर्ने फैसला सुनाएको छ ।
फैसला अनुसार सौरभ फुड प्रोडक्टस् प्रालिले आर्थिक वर्ष २०७६।०७७ मै पूर्ण कर परीक्षण (फूल अडिट) हुँदा आर्थिक वर्ष २०७७।०७८ मा जिम्मेवारी सार्न पाउने गत आर्थिक वर्षको नोक्सानी व्यवसायतर्फ १ करोड ३३ लाख ९९ हजार ४३८ रुपैयाँ मात्रै रहेको देखिएको थियो । तर सौरभ फुडले भने उक्त आर्थिक वर्षको नोक्सानीबाट २ करोड ५६ लाख ७४ हजार २ रुपैयाँ ३५ पैसा जिम्मेवारी सारेको देखियो । यसरी नोक्सानी सार्दा १ करोड २२ लाख ७४ हजार ५६४ रुपैयाँ ३५ पैसा बढी नोक्सानी खर्च कट्टी दाबी गरी आयकरमा कमी ल्याएको भेटिएको थियो ।
यसरी सौरभ फुडले आर्थिक वर्ष २०७७।०७८ को आय विवरण पेस गर्दा गत आय वर्षबाट जिम्मेवारी सार्न पाउने भन्दा बढी रकमको दायित्व देखाएर आयकरमा छली गरेको ठहर गर्दै राजश्व न्यायाधिकरण काठमाडौंले १ करोड २२ लाख ७४ हजार ५६४ रुपैयाँ ३५ पैसा रकम तिर्नै पर्ने फैसला सुनाएको हो ।
आफूसँग नगद, बैंकमा ऋण देखाएर ब्याजको नाटक !
सौरभ फुड प्रोडक्टस् प्रालिले आर्थिक वर्ष २०७७।०७८ मा आफूले तिर्नुपर्ने आयकर छली गर्न हुँदै नभएको दायित्व वा नोक्सानी मात्रै देखाएन, आफूसँग करिब ८ करोड रुपैयाँ नगद मौज्दात राखी बैंकको ऋणबापतको ब्याज रकम भन्दै खर्च कट्टी समेत गरेको पाइएको छ । उक्त विषयलाई पनि राजश्व न्यायाधिकरणले गलत भन्दै रकम तिर्नै पर्ने फैसला सुनाएको छ ।
सौरभ फुडले आफूसँग करिब ८ करोड रुपैयाँ नगद नै मौज्दात राखी बैंकको ऋणबापतको ब्याज भन्दै ३५ लाख ३१ हजार १६ रुपैयाँ ९४ पैसा कर छली गर्ने प्रयास गरेको थियो । उसले त्यति बेलाको बैंकको औसत ब्याजदर ६ दशमलव ९४ प्रतिशतका दरले ब्याज गणना गरी आयकर रकम नतिरेकामा न्यायाधिकरणले उक्त रकम पनि तिर्नै पर्ने फैसला सुनाएको हो ।
फैसला सुनाउँदा कम्पनीको ओपनिङ क्यास ब्यालेन्स नै ८ करोड ३६ लाख १६ हजार १०५ रुपैयाँ ५३ पैसा देखिएको र क्लोजिङ क्यास ब्यालेन्समा समेत १ करोड ८१ लाख ४२ हजार ३०७ रुपैयाँ ७७ पैसा रहेको देखिएकाले ब्याज खर्चलाई स्वीकार गर्न नसकिने ठहर गरेको हो ।
फैसलामा भनिएको छ, ‘…एकातिर करदाताले बैंकबाट ऋण लिई ब्याज खर्च दाबी गरेको छ भने अर्कोतर्फ व्यवसायमा अस्वाभाविक रूपमा क्यास ब्यालेन्स राखेको देखिन्छ । व्यवसायमा अस्वाभाविक रूपमा क्यास ब्यालेन्स राखी बैंकलाई ब्याज खर्च भुक्तानी गरेको सामान्य व्यावसायिक सिद्धान्त अनुसार भएको देखिएन । करदाताले आफूसँग भएको क्यास म्यानेजमेन्टसमेत व्यवस्थित देखिएन । क्यास पेमेन्टलाई कम गर्दै बैंक पेमेन्टतर्फ गई कारोबारमा पारदर्शिता कायम गर्दै नगद कारोबारलाई निरुत्साहित गर्नुपर्ने हुन्छ । उक्त क्यास बैंकमा राखेको भएपनि निश्चित रकम ब्याजको रूपमा प्राप्त हुने नै थियो । अथवा उक्त रकमले बैंक लोन घटाएको भए निश्चय नै वित्तीय लागत घट्ने थियो । त्यस कारण वित्तीय लागत अस्वाभाविक रूपमा वृद्धि गरी कारोबार समेत नोक्सानीमा देखाएको हुँदा उपरोक्तअनुसार करदाताले पेस गरेको विवरणको आधारमा गणना गरिएको औसत क्यास ब्यालेन्सको हदसम्मको ऋण रकममा यस आर्थिक वर्षको औसत ब्याजदर ६.९४ प्रतिशत आधार मानी हुने ब्याज खर्च रु. ३५,३१,०१६।९४ आयकर ऐन, २०५८ को दफा १४ बमोजिम खर्च कट्टी नपाउने भनी आन्तरिक राजस्व विभाग, लाजिम्पाटका महानिर्देशकबाट भएको निर्णय मिलेकै देखियो । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन ।’
यसरी सौरभ फुड प्रोडक्टस् प्रालिले आफूसँग नगद राम राखी बैंकको ऋणबापतको ब्याज भन्दै खर्च कट्टी गर्न खोजे पनि त्यसलाई अदालतले अस्वीकार गर्दै आयकर तिर्नै पर्ने फैसला सुनाएको हो ।
यता कर्मचारीको उपदान कोषमा भएको खर्च समेत अमान्य गर्ने ठुला करदाताको निर्णय र प्रशासनिक पुनरावलोकनबाट सही ठहराइएको विषयमा भने न्यायाधिकरणले उल्टाइदिएको छ ।
सौरभ फुडले कर्मचारीको अवकाशपश्चात् भुक्तान गर्नुपर्ने रकम ९ लाख २५ हजार ७४६ रुपैयाँ ५२ पैसालाई खर्चमा कट्टी गर्न नपाउने गरी ठुला करदाता कार्यालयले निर्णय गरेको थियो । तर उक्त खर्च श्रम ऐन अन्तरगत खर्चमा कट्टी गर्न पाउने व्यवस्था भएको र कर्मचारीका उपदानका लागि राखिएको रकम खर्च गर्न नपाउने भन्ने नहुने भन्ने जिकिरमा भने न्यायाधिकरण सहमत भएको छ ।
न्यायाधिकरणको फैसलामा भनिएको छ,
‘…प्रचलित श्रम ऐन, २०४८ र हाल प्रचलित श्रम ऐन, २०७४ बमोजिम कम्पनी प्रतिष्ठानको परिभाषा भित्र पर्दछ । अतः प्रतिष्ठानको हकमा श्रम ऐन नै आकर्षित हुन्छ । पुनरावेदक कम्पनीको हकमा श्रम ऐन समेत आकर्षित हुने भई श्रम सम्बन्धी कानून अनुसार पुनरावेदकले आफ्नो कम्पनीमा कार्यरत कर्मचारीहरूको कल्याण र हितको लागि उपदान समेतको प्रबन्ध गरी खर्चको रूपमा रकमको व्यवस्था गर्नुपर्दछ । श्रम कानूनले निर्धारण गरेको दायित्व पालना गर्नु पुनरावेदकको कानूनी कर्तव्य समेत हो । उक्त कर्तव्य पालना गर्ने सन्दर्भमा पुनरावेदक करदाताले आफ्ना कामदार कर्मचारीको लागि कर्मचारीको विवरण सहित छुट्टाएको उपदान रकम निश्चित कोषमा जम्मा हुने भएकोले सो कोषमा जम्मा भएको रकम सम्बन्धित कर्मचारीले अवकाश प्राप्त गर्दाका बखत भुक्तानी दिने हुँदा अहिले नै भुक्तानी नभएको भनी कोषमा छुट्टाएको रकम समेतलाई अमान्य गर्नु श्रम सम्बन्धी कानून विपरीत हुनुका साथै न्याय सम्मत देखिन आएन । उक्त रकम खर्चको दायित्व सिर्जना हुनासाथ खर्च लेख्नुपर्ने प्रकृतिको हुँदा उपदान बापतको रकम ऐनको दफा १३ बमोजिम खर्च कट्टी लेखांकन गरिएकोलाई अमान्य गरी ठुला करदाता कार्यालयबाट भएको संशोधित कर निर्धारण आदेशलाई नै सदर गर्ने गरी आन्तरिक राजस्व विभागका महानिर्देशकबाट भएको निर्णय उल्टी भई पुनरावेदक करदाताको पुनरावेदन जिकिर बमोजिम खर्च कट्टी पाउने ठहर्छ ।’
थप शुल्क र जरिवानामा सौरभ फुडलाई राहत
यता आयकर छली गरेको भन्दै ठुला करदाता कार्यालयले सौरभ फुडलाई शत प्रतिशत जरिवाना समेत लगाएको थियो । उक्त जरिवानाको विधि नमिलेको भन्दै राजश्व न्यायाधिकरणले त्यसलाई भने उल्टाइदिएको छ ।
आयकर ऐन, २०५८ को दफा १२० मा ‘कुनै व्यक्तिले कुनै कुराका सम्बन्धमा विभागमा झुट्टा वा भ्रमपूर्ण विवरण दिएमा वा दाखिला गर्नुपर्ने कुनै कुरा वा वस्तुको जानकारी नदिई वा सो विवरणबाट उल्लिखित जानकारी भ्रमपूर्ण हुन गएमा त्यस्तो व्यक्तिलाई देहाय बमोजिम शुल्क लाग्नेछ’ भन्ने कानूनी व्यवस्था कायम गरिएकामा त्यसै दफाको खण्ड (ख) मा ‘जानी जानी वा लापरबाही गरेको कारणले झुट्टा वा भ्रमपूर्ण हुन गएकोमा त्यसबाट हुने घटी कर रकमको एक सय प्रतिशत’ थप शुल्क लाग्ने भन्ने व्यवस्था गरिएको छ । सोही व्यवस्थाका आधारमा ठुला करदाता कार्यालयले सौरभ फुड प्रोडक्टस् प्रालिलाई शत प्रतिशत जरिवानाको व्यवस्था गरेको थियो ।
तर फैसलामा भने त्यो जानीजानी गरेको हो कि भुलवश भएको हो भनेर स्पष्ट आधार लिएर मात्रै निर्णय गर्नुपर्ने फैसलामा उल्लेख छ ।
फैसलामा भनिएको छ, ‘ ….त्यसरी शुल्क लगाउनु पूर्व करदाताले पेस गरेको आय विवरणमा यो यस आधारमा झुट्टा वा भ्रमपूर्ण देखिएको र सो मध्ये यो यो आइटमको विवरण जानी जानी झुट्टा उल्लेख गरेको र यो यो विवरण लापरबाही पूर्वक नभई भुलवश झुट्टा वा भ्रमपूर्ण हुन गएको भनी कर अधिकृतले प्रमाणको भार बहन गरी आधार र कारण खुलाई निर्णय गरेको हुनु पर्दछ । प्रस्तुत मुद्दामा पुनरावेदक करदाता उपर ठुला करदाता कार्यालयबाट भएको कर निर्धारण आदेशमा के, कुन आधार कारणबाट कुन–कुन विषयका हकमा करदातालाई आयकर ऐन, २०५८ को १२०(ख) बमोजिमको शुल्क आकर्षण हुने भन्ने निर्णय पर्चामा विवेचना गरी उल्लेख गरेको पाइएन । निर्णय गर्ने अधिकारीले निर्णय गर्दा स्पष्ट रूपमा आधार र कारण खोली निर्णयमा पुग्नु पर्ने व्यवस्था भएकोमा थप शुल्क लगाउने गम्भीर र संवेदनशील विषयमा निर्णय खण्डमा विवेचना नगरी केबल तपसिल खण्डमा सो ब्यहोरा उल्लेख गरी निर्णय भएको पाइयो । यस अवस्थामा करदातालाई थप शुल्कको दायित्व थोपार्नु प्राकृतिक न्यायको सिद्धान्त र मौजुदा कानूनी व्यवस्थाको विपरीत मात्र नभएर कर प्रशासनको त्रुटि एवम् गम्भीर लापरबाही समेत देखिएको हुँदा प्रस्तुत करदातालाई आयकर ऐन, २०५८ को दफा १२०(ख) बमोजिमको शुल्क लगाएको सुरु कर कार्यालयको निर्णय र सो निर्णयलाई सदर गरेको आन्तरिक राजस्व विभागका महानिर्देशकको निर्णय मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ ।’
यद्यपि सोही खण्डमा आयकर ऐन, २०५८ को दफा ११७ को शुल्कको सम्बन्धमा समयमै कर विवरण नबुझाई जरिवाना र ब्याजमा परेमा भने त्यस्तो जरिवाना र ब्याज तिर्नै पर्ने ठहर गरिएको छ ।
यसरी के एल दुगड समूहको सौरभ फुड प्रोडक्टस् प्रालिले आर्थिक वर्ष २०७७।०७८ मा करिब २ करोड रुपैयाँ आयकर छली गरेको अदालतले ठहर गर्दै उक्त रकम तिर्नै पर्ने फैसला सुनाएको छ ।
२०८२ जेठ १९ गते भएको फैसलाको पूर्ण पाठ भने केही दिनअघि मात्रै सार्वजनिक गरिएको हो ।
के के वस्तुको उत्पादन र व्यापार गर्छ के एल दुगड समूह ?
के एल दुगड समूह नेपालको खाद्यान्न उत्पादन र व्यापारमा सक्रिय व्यापारिक समूह हो । यो समूहले स्वस्तिक आयल इन्ड्रष्ट्रिजका नामबाट स्वस्तिक, सन फ्लो, धारा हेल्थ, संगम र बिगुल ब्रान्डमा खाने तेलहरूको उत्पादन गर्ने गर्छ ।

त्यसैगरी सौरभ फुड प्रोडक्टस् प्रालिको नाममा ज्ञान ब्रान्डको दाल र चामलको उत्पादन तथा विक्री गर्छ । सौरभ फुड प्रोडक्टस् प्रालिले ज्ञान बासमती चामल, ज्ञान सोल्टी जिरा मसिनो, ज्ञान लङ ग्रेन चामल, ज्ञान सोया चंक, आशिर्वाद ब्रान्डबाट चना, मसुर, रहर, मास आदिको दालको उत्पादन तथा विक्री गर्दै आइरहेको छ ।
सौरभ फुड प्रोडक्टस् प्रालि यसअघि न्यून गुणस्तरको तोरीको तेलको आयात तथा विक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साले जिल्ला प्रशासन कार्यालय बारामा २०८१ चैत १३ गते मुद्दा समेत दायर गरेको थियो । उक्त मुद्दा अझै विचाराधीन अवस्थामा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया