दलको नाम ‘रास्वपा’ र चुनाव चिह्न ‘घण्टी’ स्वीकार गर्दै रास्वपासँग विवेकशील साझाको एकता

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबिच औपचारिक रुपमा एकता भएको छ ।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित एक विशेष कार्यक्रममा रास्वपा र विवेकशील साझा पार्टीबिच एकता भएको हो ।

सहमतिपत्रमा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति एवं उच्च संवाद समितिका संयोजक डा. स्वर्णीम वाग्लेले हस्ताक्षर गरे । त्यस्तै विवेकशील साझा पार्टीका तर्फबाट अध्यक्ष समीक्षा बास्कोटा तथा उपाध्यक्ष एवं राजनीतिक संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका हुन् ।
सहमति अनुसार रास्वपाको राजनीतिक शिद्धान्त र नेतृत्वलाई निःशर्त स्वीकार गर्ने सहमति भएको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शिद्धान्त र नेतृत्व निःशर्त स्वीकार गर्दै निष्ठा र मूल्य–मान्यतामा आधारित वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्वं उज्वल थापा एवं विवेकशील अभियानको योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने,’ सहमतिपत्रमा भनिएको छ ।

त्यस्तै एकीकरणपछि पनि दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने र चुनाव चिह्न समेत रास्वपाकै रहने बताइएको छ । त्यतिमात्र होइन रास्वपा र विवेकशील साझा मिलेर बनेको नयाँ पार्टीले अन्य वैकल्पिक राजनीतिक शक्ति एवं समूहहरुलाई पनि पार्टीमा जोडिन आह्वान गरेको छ ।

‘एकीकरण पश्चात दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमीको मध्य भागमा सेतो रंगको गोलाकार बिचमा निलो रङ्गको घण्टीको आकृति र दलको चिह्न घण्टी रहनेछ,’ सहमतिपत्रमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न घण्टीमा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन र समुन्नतिका मुद्दा अघि बढाउन अन्य सबै सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आह्वान गर्ने ।’

खासगरी जेनजी आन्दोलनपछि रास्वपा र विवेकशील साझा पार्टीबिच एकता गर्ने प्रक्रिया सुरु भएको थियो । केही दिनअघि मात्रै दुई दल आधिकारिक रुपमा मिलेर जाने सहमति समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?