ओलीको आग्रह : ‘सकेसम्म सर्वसम्मतिले जाऔँ, मतदान नै चाहिए त्यो पनि हुन्छ’

लोकपथ
693
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा मतदान गर्न चाहनेहरुका लागि मतदानबाटै पदाधिकारी चयन हुने बताएका छनद् ।

आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतिक चिह्न (लोगो) सार्वजनिक गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

महाधिवेशनमा संगठनात्मक विषय, राजनीतिक प्रतिवेदनमा कुनै हेरफेर गरिराख्नुपर्ने अवस्था नरहेको बताए ।

यसैगरी विधानमा ठूलो परिवर्तन गर्नुपर्ने केही नरहेको भएपनि आवश्यक परे केही छोटो विधिबाट गर्न सकिने स्पष्ट पारे । उन्नत सहमतिका साथ महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा अघि बढाउन उनको आह्वान छ । महाधिवेशन पुनःगठन, पुनः संरचना, रुपान्तरण, पुस्तान्तरणको थलो भएको बताउँदै सकेसम्म सहमतिका आधारमा पदाधिकारी टुंग्याउन आग्रह गरे ।

सर्वसम्मति हुन नसके मतदान अनिवार्य हुने पनि स्पष्ट पारे । एकतावद्ध भएर महाधिवेशनमा जान र कसैलाई अपमान नगर्न उनको आग्रह छ ।

उनले भने, ‘अब आउने महाधिवेशनमा संगठनात्मकमा कुनै परिवर्तन गर्नुपर्ने आवश्यकता छैन । भर्खरै विधान महाधिवेशनले गरेको छ । राजनीतिक प्रतिवेदनमा कुनै हेरफेर गरिराख्नुपर्ने अवस्था छैन । त्यो पनि विधान महाधिवेशनले गरिसकेको छ । विधानमा ठूलो परिवर्तन गर्नुपर्ने छैन । केही सानोतिनो परिवर्तन रहेछ भने महाधिवेशनले छोटो विधिबाट त्यसलाई गर्नेछ । लामो डिस्कशन हुँदैन । छोटो विधिबाट नै हामी टुंग्याउँछौँ । यस महाधिवेशनमा नीति, संगठनात्मक संरचना यी कुराहरुलाई अघि बढाउने नेतृत्व निर्माणको काम गर्नेछौँ । यसमा कुनै प्रकारको कतै असहमति राख्नुपर्ने ठाउँ पनि छैन, आवश्यकता पनि छैन । उन्नत सहमतिका साथ महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा अघि बढाऔँ । महाधिवेशन अवश्य नै पुनःगठन, पुनः संरचनाको थलो नै हो । तपाईंले त्यहीँ ठाउँमा बसेर खोलो छुन सक्नुहुन्छ, त्यही पानी छुन फेरि सक्नुहुन्न । नेकपा एमाले यस्तै एउटा गतिशील पार्टी हो । अधिवेशन हुँदा केही हेरफेर, नयाँ केही साथी आउने, केही हट्ने हुन्छ । त्यसमा जस्तो खालको मागको स्टाइलले कुरा उठ्यो, पुनःगठन,परिवर्तन, हस्तान्तरण, पुस्तान्तरणको कुरा उठेको छ । हस्तान्तरण पनि हुन्छ, पुस्तान्तरण पनि हुन्छ, नगरौँ भने पनि हुन्छ । आवश्यकताअनुसार हुन्छ नै । महाधिवेशनमा मतदान हुन्छ, कसैले मतदान गर्न नदिएर, मतदान नै नभएर सर्वसम्मति गर्नुपर्छ भन्ने नाममा कसैलाई अघि बढ्नै नदिएर रोक्ने काम हुन्छ की भन्ने काम हुँदैन । प्रतिष्पर्धा खुला हुन्छ, प्रतिष्पर्धा गर्न चाहनेले राम्रोसँग प्रतिष्पर्धा गर्न पाउँछ । तर अध्यक्षका हैसियतले मेरो आग्रह के हुन्छ भने जसले छोड्नुपर्छ सहमतिका साथ छोडौँ, जो बस्नुपर्छ, सहमतिका साथ बसौँ । सहमतिका साथ जाऔँ । भन्दै गर्दछन्, एमालेमा डेमोक्रेसी छैन, चुनाव नै लडेन । कसैलाई चुनाव लड्न दिइएन । नदिइएको होइन, एकतावद्ध भएर जाऔँ । कसैलाई अपमान नगरौँ । परस्परमा सम्मानको संस्कृति विकास गरौँ ।’

अध्यक्ष ओलीले प्रतिष्पर्धालाई एमालेले नराम्रो नमान्ने पनि स्पष्ट पारे । आफूहरुले रोजेर नै प्रतिष्पर्धाको तरिका ल्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?