विराटनगर । जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले विराटनगरस्थित कोशी अस्पतालको निर्माणाधीन भवन तोकिएको समयसीमाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।
आइतबार अस्पताल निरीक्षणका क्रममा मन्त्री घिसिङले निर्माण व्यवसायीलाई निर्धारित समयमै दुईवटा भवन निर्माण पूरा गरी हस्तान्तरण गर्न आग्रह गरेका हुन् ।
बिरामीको बढ्दो चापलाई ध्यानमा राखी विस्तार गरिएको अस्पतालको नयाँ भवन निर्माणमा ढिलाइ भएको गुनासो आएपछि उनले अस्पताल प्रशासन र निर्माण पक्ष दुवैलाई काम गति दिन निर्देशन दिएका हुन् ।
संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका अनुसार दुई अर्ब ४५ करोड रुपैयाँ लागतको ११ तले भवनको करिब ३५ प्रतिशत र ३८ करोड लागतको चार तले भवनको ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
निर्माण व्यवसायी केसी तथा रमण कन्स्ट्रक्सनले करिब चार वर्षअघि भवन निर्माण सुरु गरेको थियो । सम्झौताअनुसार भवन यसै वर्षभित्र अस्पताललाई हस्तान्तरण गर्नुपर्नेछ ।
सो अवसरमा कोशी अस्पतालका प्रमुख डा. रुना झा तथा संघीय सहरी विकास तथा भवन निर्माण कार्यालयका डिभिजनल इञ्जिनियर सुरेन्द्र साहले मन्त्री घिसिङलाई निर्माण प्रगतिसम्बन्धी विवरण प्रस्तुत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया