काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकतामा सहभागि नहुने बताएका छन् ।
वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि एक दशक भन्दा लामो समयदेखि संघर्षरत पाण्डे दुई दलको एकताप्रति आपत्ति जनाउँदै सहभागि नहुने बताएका हुन् ।
आज रास्वपा र विवेकशील साझा पार्टी एक हुँदैछन् । तर विवेकशील साझा पार्टीलाई आजको अवस्थासम्म ल्याउन भूमिका खेलेका पाण्डे भने एकता प्रक्रियामा भाग नलिने भएका हुन् ।
उनले सामाजिक सञ्जालमा दुई दलको एकताप्रति असन्तुष्टि जनाउँदै एकीकरणमा भाग नलिने बरु आफू स्वतन्त्र रहने बताएका छन् । त्यति मात्र होइन केही दिन वा महिना आफू ‘कुलिङ परियड’ मा बस्ने र त्यसपछि राजनीतिको नयाँ यात्रा सुरु गर्ने तयारी गरेको उल्लेख गरेका छन् ।
‘विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ । म यो एकीकरणमा सामेल छैन । अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिन्छु। त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु,’ पाण्डेले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ । विवेकशील पनि ‘स्वतन्त्र’ भयो ।’
त्यसो त स्वर्गीय उज्वल थापासँग मिलेर विवेकशील नेपाली अभियानबाट पार्टी बनाउन उनको भूमिका रहेको छ । उनी गत निर्वाचनमा विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नं ९ मा उठेका थिए । तर उनी एमालेका कृष्णगोपाल श्रेष्ठसँग पराजित हुन पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया