सिंहदरबार जलाउनेहरू नायक कि अपराधी ?

कतै हामीले सिंहदरबार होइन, आफ्नै भविष्य त जलाइरहेका छैनौँ ?

लोकपथ
119
Shares

– आर पराजुली
काठमाडौं । भदौ २४, २०८२ को त्यो कालो दिनले नेपाली इतिहासमा गहिरो घाउको स्थान बनाइसकेको छ । सिंहदरबार, जुन नेपालको शासन प्रणालीको हृदयस्थल र राज्यसत्ताको प्रतीक हो, त्यसमा लागेको आगोले केवल भौतिक संरचना मात्रै जलेनन्, हाम्रा लोकतान्त्रिक मूल्यमान्यताहरु पनि सँगसँगै जले । यो घटनाले देशभरि गम्भीर बहस सुरु गर्‍यो, के सार्वजनिक सम्पत्ति विध्वंस गर्नेहरू राष्ट्रिय नायक हुन सक्छन् वा तिनीहरू कानुनको दृष्टिमा अपराधी हुन् ?

उत्तर स्पष्ट छ, सिंहदरबार जलाउनेहरू नायक होइनन्, खलनायक हुन् । तिनीहरूले गरेको कार्य कुनै पनि सभ्य समाजमा स्वीकार्य हुन सक्दैन र तिनलाई कानुनी दायरामा ल्याउनु आजको सबैभन्दा ठूलो आवश्यकता हो ।

नायकत्वको गलत परिभाषा र वास्तविकता
केही आन्दोलनकारीहरू र तिनका समर्थकहरूले सिंहदरबार जलाउनेहरूलाई नायकको रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् । उनीहरूको दाबी छ कि यो कार्य भ्रष्ट राजनीतिक व्यवस्थाप्रतिको सशक्त विद्रोह हो । तर के साँच्चै सार्वजनिक सम्पत्ति विध्वंस गर्दैमा राष्ट्रिय परिवर्तन ल्याउन सकिन्छ ? के आगजनी र हिंसा लोकतान्त्रिक परिवर्तनको उपाय बन सक्छ ?

वास्तविकता यो हो कि सिंहदरबार निजी सम्पत्ति होइन, राज्यको सम्पत्ति हो जसको निर्माण करदाताको पैसाबाट भएको हो । यसरी सार्वजनिक सम्पत्ति नष्ट गर्नु कुनै पनि हालतमा उचित हुन सक्दैन । हामीले बुझ्नु पर्छ कि लोकतन्त्र भनेको केवल सरकारविरुद्धको विद्रोह मात्र होइन, नागरिक र राज्यबिचको सामाजिक अनुबन्ध पनि हो ।

सुदन गुरुङ : उदाहरण वा चेतावनी ?

यस आन्दोलनको अग्रपंक्तिमा देखिने केही युवा नेता र व्यक्तिहरू, जस्तै सुदन गुरुङ जो खुला रूपमा परस्परविरोधी बयान र हिंसात्मक गतिविधिका लागि उदाहरण हुन् । उनी कहिले संविधान फाल्ने कि राख्ने सोचमा छु भन्छन्, कहिले गृह मन्त्रालयमा प्रहरीलाई ‘कामदार’ जस्तो व्यवहार देखाउँछन्, कहिले किसान श्रेष्ठको निजी सम्पत्तिमा गएर धम्की दिने गर्छन् । उनी मात्र यस्ता एक पात्र होइनन्, यस्ता धेरै व्यक्तिहरू छन् जसले हिंसा, डर र अराजकता फैलाउँदै देशलाई भित्री खतरामा धकेलिरहेका छन् ।
राज्यले नरम व्यवहार देखाएर तिनीहरूलाई लोकप्रिय बनाउनु भनेको कानुनको सीमाबाट बाहिर जान अनुमति दिनु हो । यसरी अनुमति दिएर अपराधीलाई नायक बनाउने प्रवृत्ति लोकतन्त्र र समाज दुवैका लागि घातक साबित हुन्छ ।

कानुनको शासन र सामाजिक अनुबन्ध
कुनै पनि सभ्य समाजमा कानुनी शासनको सर्वोच्चतालाई प्राथमिकता दिइन्छ । हिंसा र विध्वंसलाई वैध बनाउने प्रयासले कानुनी राज्यको अवधारणालाई नै खतरामा पार्छ । यसले समाजमा यो गलत सन्देश दिन्छ कि हिंसात्मक तरिकाले माग पूरा गर्न सकिन्छ ।

यदि आज हामीले सिंहदरबार जलाउनेलाई नायक बनाउन थाल्यौँ भने भोलि कसैले अस्पताल, स्कुल वा विद्युत् गृह जलाएपनि त्यसलाई वैध ठहर गर्ने प्रवृत्ति बढ्ने खतरा छ । यसले गर्दा राज्यको नियन्त्रण होइन, भीडको मनोवृत्ति नै अन्तिम शासन हुनेछ, जुन कुनै पनि सभ्य समाजका लागि सीधा खतरा हो ।

देशमा अहिले व्यवसायीदेखि विद्यार्थी र सर्वसाधारणसम्म सबैले असुरक्षा महसुस गरिरहेका छन् । लगानीकर्ता डराउँछन्, व्यापार प्रभावित छ र दैनिक जीवन अनिश्चिततामा सीमित छ । यो देश केवल जेन–जीको मात्र होइन, यहाँका धेरै पुस्ताले लोकतन्त्र, विकास र स्थायित्वका लागि बलिदान दिएका छन् ।

ढुंगामुढा, आगजनी, मन्त्रालय घेरेको, सार्वजनिक सम्पत्ति जलाएको फोटो सामाजिक सञ्जालमा भाइरल त बन्ला तर यसले देशको दिशा परिवर्तन गर्दैन, केवल क्षणिक हल्ला पैदा गर्छ ……..

तर अहिले केही युवा आन्दोलनकारी ‘यो देश त केवल हाम्रो नियन्त्रणमा छ, अब जे गरे पनि हुन्छ’ भन्ने खतरनाक धारणा फैलाइरहेका छन् । यस्तो रवैया भनेको अन्यको पसिना र योगदानलाई बेवास्ता गर्ने र देशलाई अराजकतातर्फ धकेल्ने काम हो ।

लोकतान्त्रिक विकल्पहरू : हिंसा होइन, हितकारी विचार
असन्तुष्टि नागरिकको अधिकार हो, तर विरोधको शैली लोकतान्त्रिक र शान्तिपूर्ण हुनुपर्छ । र्‍याली, धर्ना, मिडिया र अदालतमार्फत विचार राख्न सकिन्छ; तर सिंहदरबार जलाउने, गाडी जलाउने, सार्वजनिक सम्पत्ति र व्यक्तिको निजी सम्पत्ति नै नष्ट गर्ने कार्यलाई आन्दोलन र उपलब्धि ठान्नु केवल अराजकता मात्रै हो ।

सुधार चाहिन्छ भने मतपत्र उठाएर, आफ्ना विचार र एजेन्डा प्रस्तुत गरेर चुनाव जित्नु हो, आगजनी वा हिंसाबाट होइन । युवा ऊर्जा सिर्जनात्मक र नीतिगत काममा खर्चिनुपर्छ । अनुसन्धान, समाधान प्रस्ताव, जनतालाई बुझाउने काम नै वास्तविक शक्ति हो । ढुंगामुढा, आगजनी, मन्त्रालय घेरेको, सार्वजनिक सम्पत्ति जलाएको फोटो सामाजिक सञ्जालमा भाइरल त बन्ला तर यसले देशको दिशा परिवर्तन गर्दैन, केवल क्षणिक हल्ला पैदा गर्छ ।

यसर्थ कानुन सबैका लागि एउटै हुनुपर्छ । सुरक्षा निकायको कर्तव्य उल्टाएर अपराधीलाई नायक बनाइरहन मिल्दैन । सुदन गुरुङ जस्ता परस्परविरोधी र हिंसात्मक अभिव्यक्ति दिने व्यक्तिहरूसहित जो-कोहीले सार्वजनिक सम्पत्ति जलाउँछ वा संविधानलाई चुनौती दिन्छ, त्यसलाई कडा कारबाहीको दायरामा ल्याउनुपर्छ, फूलमालाले स्वागत होइन ।

प्रहरी र सुरक्षाकर्मीको पहिलो कर्तव्य कानुनको रक्षा गर्नु, नागरिकको ज्यान जोगाउनु र सार्वजनिक-निजी सम्पत्तिको सुरक्षा गर्नु हो । यदि यस्तो हिंसालाई सहजै ‘आन्दोलन’ भन्दै उम्काइयो भने त्यसले गर्दा राज्यको नियन्त्रण होइन, भीडको मनोवृत्ति नै अन्तिम शासन हुनेछ ।

आजको आवश्यकता भनेको व्यवस्था वा विधि परिवर्तनका लागि मतपत्र उठाउने हो, पेट्रोलको बोतल होइन ……

त्यसैले, सिंहदरबार जलाउने, संसद् भवन जलाउने, देशलाई डर र अन्धकारतिर धकेल्नेहरूलाई फूलमाला होइन, कानुनअनुसार कडा कारबाही आजको समयको माग हो । परिवर्तन चाहने हो भने मतपत्र उठाऔँ, पेट्रोलको बोतल होइन । हामीले बुझ्नु पर्छ कि हिंसा कहिल्यै स्थायी समाधान हुन सक्दैन । सिंहदरबारको भौतिक संरचना फेरि निर्माण गर्न सकिन्छ, तर हिंसाको संस्कृतिले समाजको मूलभूत चरित्र र सभ्यतामा गहिरो क्षति पुर्‍याउँछ ।

आजको आवश्यकता भनेको व्यवस्था वा विधि परिवर्तनका लागि मतपत्र उठाउने हो, पेट्रोलको बोतल होइन । परिवर्तनका लागि आगो होइन, प्रकाश चाहिएको हो । र, यो प्रकाश हामी सबैको सामूहिक चेतनाबाट नै उत्पन्न गराउनु पर्छ । दीर्घकालीनरुपमा विधि र व्यवस्था बदल्न ब्यालेटबाट मात्रै सम्भव छ, न बुलेटबाट न पेट्रोल हालिएको बोतलबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?