दाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमजोरी सच्याउँदै जनताको चाहनाअनुसार पार्टीलाई नयाँ दिशातर्फ अघि बढाइने बताएका छन् ।
शनिबार दाङको लमहीमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले १५ वटा कम्युनिस्ट घटक र समूह मिलेर बनेको अहिलेको नेकपा चुनाव केन्द्रित गठबन्धन नभई राष्ट्र र जनताको रक्षा गर्ने ऐतिहासिक सङ्कल्प भएको दाबी गरे ।
प्रचण्डले संविधान जारी भए ता पनि जनताले अपेक्षा गरेको परिणाम दिन नसकेको स्वीकार गर्दै विगतका त्रुटिहरू दोहोरिन नदिने प्रतिज्ञा गरे। “हामीले विभिन्न समयमा राष्ट्र र जनताको पक्षमा काम गर्ने कोसिस गरे पनि भनेजस्तो परिणाम निकाल्न सकिएन। त्रुटि र कमजोरी कहाँ भयो भनेर निरन्तर समीक्षा गर्दै आएका थियौँ,‘उनले भने । उनले आजको सभालाई ‘आत्मालोचना र सङ्कल्प सभा’ का रूपमा व्याख्या गरे ।
हालैको युवा पुस्ताको ‘जेनजी आन्दोलन’ सहितका गतिविधिले नेतृत्वलाई गम्भीर ढङ्गले झकझक्याएको बताउँदै प्रचण्डले युवाहरूको भावना र अभिलाषा अनुसार आफूहरू परिवर्तन हुनैपर्ने आवश्यकता महसुस भएको बताए । ‘युवा पुस्ताको चेतनाले हामीलाई अझै सचेत बनायो । अब जनताको आवश्यकताअनुसार बदलिनुको विकल्प छैन, ‘उनले स्पष्ट पारे ।
मजदुर, किसान, दलित, महिला, मुस्लिम, थारु लगायतका उत्पीडित वर्गका हकहितका लागि नयाँ ढंगको संघर्ष प्रारम्भ गर्ने घोषणा गर्दै प्रचण्डले सुशासन, रोजगारी र आर्थिक समृद्धिका क्षेत्रमा अपेक्षित काम गर्न नसकिएको स्वीकार गरे ।
राष्ट्रिय स्वाधीनताको सवालमा कम्युनिस्टहरू नै सबैभन्दा भरपर्दो शक्ति भएको दाबी गर्दै प्रचण्डले नेपाली जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया