काठमाडौं । महाधिवेशनको विषयले नेपाली कांग्रेसभित्र किचलो बढ्दो छ ।
गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक अझै टुंगिन सकेको छैन । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशनको माग गरेका छन् ।
तर संस्थापन पक्षले भने अहिले विशेष वा नियमित महाधिवेशन गर्न सम्भव नरहेको भन्दै अडान कायम राखेपछि कांग्रेसभित्रको आन्तरिक कलह थप चुलिएको हो ।
पटकपटक बैठकको मिति सरेपछि कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनको हस्ताक्षर अभियानको नेतृत्व गरेको नेता गुरुराज घिमिरेलाई वार्ता गर्न बोलाएका छन् । तर नेता घिमिरेले भने अनौपचारिक रुपमा फोनबाट भन्दा पनि चिठ्ठी नै पठाएर औपचारिक रुपमा वार्ताका लागि बोलाउन माग गरे ।
लोकपथसँग कुरा गर्दै नेता घिमिरेले हस्ताक्षर बुझाएपछि आफूहरुसँग प्रत्यक्ष भेटघाटमा एकपटक र अनौपचारिक रुपमा २–३ पटक मात्रै कुरा भएको बताए । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरको अवमूल्यन गर्ने काम भएको भन्दै आफूहरुले आधिकारिकताका लागि चिठ्ठीको माग गरेको लोकपथलाई जानकारी दिए ।
‘कांग्रेसको विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ । हामी ५४ प्रतिशतले हस्ताक्षर नै गरेर विशेष महाधिवेशनको माग गरेका छौँ तर संस्थापनले त्यसलाई अबमूल्यन गरेको छ,’ घिमिरेले लोकपथसँग भने, ‘मलाई कार्यवाहक सभापतिज्यूले फोन गरेर वार्ता एवं छलफलका लागि बोलाउनुभएको थियो, तर मैले हामीलाई आधिकारिक पत्र नभइ वार्ता गर्न आउँदैनौँ भनेको छु र जाँदैनौँ पनि ।’
कार्यवाहक सभापति खड्काले शनिबार बिहान ८ बजेका लागि वार्ताका लागि बोलाएका थिए ।
त्यसो त निर्वाचन अघि महाधिवेशन वा निर्वाचनपछि महाधिवेशन भन्ने विषय समेत कांग्रेसमा पेचिलो बनिरहेको छ । निर्वाचन नजिकिएको भन्दै पार्टी निर्वाचनमा केन्द्रित रहनुपर्ने कारण निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने संस्थापन पक्षको माग रहेको छ । तर महामन्त्री गगनकुमार थापा लगायतका नेताहरुले भने निर्वाचन अघि नै नयाँ नेतृत्व लिएर चुनावमा होमिनुपर्नेमा जोड दिँदै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया