सेनालाई प्रधानमन्त्रीको निर्देशन– ‘आगामी निर्वाचनमा एक थोपा पनि रगत नबगोस्’

लोकपथ
210
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनालाई आगामी निर्वाचनमा नागरिकलाई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूती हुने गरी काम गर्न निर्देशन दिएकी छन् ।

शुक्रबार दिउँसो. नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिँदै प्रधानमन्त्री कार्कीले सो निर्देशन दिएकी हुन् । उनले फागुन २१ का लागि तोकिएको निर्वाचनका सन्दर्भमा एक थोपा पनि रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी सुरक्षा दिन भनेकी हुन् ।

‘मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन । यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरुसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न म निर्देशन दिन्छु,’ जंगी अड्डा पुगेर प्रधानमन्त्री कार्कीले भनेकी छन् ।

त्यति मात्र होइन जेनजी आन्दोलनका क्रममा लुटिएका हातहतियारको खोजी तथा नियन्त्रणमा लिन प्रहरी लगायतका सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रिन सहयोग गर्न समेत आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्कीले आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूती दिलाउने मात्र नभइ हरेक राजनीतिक दलहरुलाई आफ्नो गतिविधि शान्तिपूर्वक गर्ने वातावरण मिलाउन समेत निर्देशन दिएकी छन् ।

‘जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तया नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खट्नुहोस्,’ प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिना अवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न म निर्देशन दिन्छु ।’

सो क्रममा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो। साथै निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको थियो ।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?