काठमाडौं । सशस्त्र प्रहरीका तत्कालीन एआईजी चन्द्रप्रकाश गौतम गत बैशाख ३ गते ३० बर्से सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा बढुवा सिफारिस समितिले बैशाख १४ गते सूचना प्रकाशन गर्यो । ७ दिनको समय दिएर सूचना निकालिएकोमा निर्धारित समयसीमाभित्र ८ जना डीआईजीले बढुवा प्रयोजनका लागि आवेदन दिए । आवेदन दिनेमा थिए– कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल, सुरेशकुमार श्रेष्ठ र अञ्जनी पोखरेल ।
डीआईजीको पहिलो वरीयतामा थिए कमल गिरी, दोस्रोमा ठाडामगर । ठाडामगरले अन्य पाँच जनाले दिएको आवेदनलाई सामान्यरुपमा लिए । तर श्रेष्ठ र पोखरेलले दिएको आवेदनलाई सामान्यरुपमा लिएनन् । आवेदन दिएपछि उनीहरूले बढाएको सक्रियताले त उनको रिसको पारो झनै बढायो । आफूहरू धेरै सिनियर हुँदाहुँदै सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका डीआईजीद्वय श्रेष्ठ र पोखरेलले आवेदनसँगै लविइङलाई समेत तीव्रता दिएपछि रिसाएका ठाडामगरले उनीहरू दुवै जनालाई बोलाएर थर्काएको चर्चा त्यसबेला सशस्त्र मुख्यालयमा चलेको थियो । ठाडामगरले ‘तिमीहरू र सिसं २ को टोलीबीचको अन्तर पाँच महिना मात्रै हो, तिमीहरूलाई सिसं २ को टोलीले लबिइङ गर्यो भने रिस उठ्छ कि उठ्दैन ? त्यसैले म बढुवा भएँ भने तिमीहरूलाई छाड्दिनँ, त्यसैले अहिले चुपचाप बस्नु’ भनेर थर्काएको चर्चा त्यसबेला सशस्त्र सशस्त्र मुख्यालयमा चलेको थियो ।
अन्ततः बढुवा सिफारिस समितिले एक महिनापछि जेठ १५ गते तिनै दोस्रो वरीयताका ठाडामगरलाई बढुवा सिफारिस गर्यो । पहिलो वरीयताका गिरी हेरेको हेर्यै भए ।
सशस्त्र प्रहरीमा बढुवा प्रयोजनका लागि सूचना निकाल्नुपर्ने व्यवस्थाका कारण दाबेदारहरुबीच नै आरोप–प्रत्यारोप, छेडखानी, द्वन्द्व, मनमुटाब बढ्ने गरेको र त्यसले संगठनको कामकारबाहीमै गम्भीर असर परेकाले हुनसक्छ– सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली २०८२ मार्फत यसलाई हटाइएको छ । २०८२ मंसिर ४ गते भएको चौथो संशोधनमा भएको व्यवस्थाअनुसार अब बढुवा प्रयोजनका लागि सूचना निकाल्नु पर्दैन । यो संशोधित व्यवस्थालाई लिएर सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको अहिले चर्को प्रशंसा भइरहेको छ ।
संशोधित व्यवस्थालाई नै टेकेर हिजो बिहीबार साँझ साधारण समूह साधारण उपसमूहतर्फ एक डीआईजी, एक एसएसपी र सशस्त्र प्रहरी सेवा प्राविधिक समूहको स्वास्थ्यतर्फ एक एसएसपीमा सिधै बढुवा सिफारिस गरिएको छ । चित्त नबुझ्नेलाई उजुरबाजुर गर्न ७ दिनको समय दिइएको छ ।
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३८ को २ मा उल्लेख भएको ‘बढुवा समितिले यस नियमबमोजिम हुने बढुवाको सूचना प्रकाशन गर्नु पर्नेछ’ भन्ने प्रावधानमा के कस्ता विकृति थिए, यसलाई हटाइँदा संगठनलाई के के फाइदा हुन्छ भन्ने कुरा हामीले सशस्त्रकै उच्चपदस्थ अधिकारीहरूबाट व्यक्त भनाइलाई बुँदागतरुपमा उल्लेख गरेका छौँ ।



१. विगतमा बढुवा हुनु अगावै सूचना प्रकाशन हुँदा सबैले अनिवार्य रूपमा बढुवाको फाराम भरेर बुझाउनु पर्ने हुँदा शक्तिकेन्द्र मार्फत संगठन प्रमुख तथा समितिका पदाधिकारी, गृहमन्त्री तथा गृहसचिवलाई समेत प्रभावमा पार्ने साथै उक्त कार्यको चेन राजनैतिक पदाधिकारी हुँदै प्रधानमन्त्री तथा राज्यका उपल्लो निकायमा समेत पर्ने भएको हुँदा फौजी संगठन चेन अफ कमान्ड तथा अनुशासनमा चल्ने फौजलाई नकारात्मक प्रभाव परेको ।
२. राजनीतिक दलका पदाधिकारीहरू आफ्नो भोट बैंक बिग्रने डर त्रासका कारण आईजीपी तथा गृह मन्त्रालयको ढोकामा बढुवा फाराम भरेका सशस्त्र प्रहरी अधिकृतलाई समेत लिएर गई बढुवाको लागि सिफारिसका साथ भनसुन गर्ने गरेको ।
३. बढुवा हुने व्यक्ति बढुवाको सूचीमा समाहित हुन नसक्दा सिफारिस गर्ने र गराउने व्यक्तिबीचको सम्बन्धमा दरार पैदा भएको ।
४. बढुवाको सूचना प्रकाशित गरेपश्चात् भनसुन गर्नको लागि बिदा पेस गरी काठमाडौं आइ नेता तथा कार्यकर्ता एवं प्रशासकीय अधिकारीहरूको ढोका ढोका चाहर्नु पर्ने, जसको कारणले गर्दा संगठनको मर्यादामा समेत आँच पुगेको तथा संगठन प्रमुखलगायत गृह मन्त्रालयका नेतृत्व तहमा समेत असर पुग्ने गरेको ।
५.युनिफर्मधारी व्यक्ति नियम कानुनको पूर्ण पालना गराउन गलत कार्य गर्ने जो सुकै व्यक्ति भए पनि कानुनी दायरामा ल्याउनु पर्ने व्यवस्था हुँदाहुँदै पनि मेरो बढुवामा सहयोग गर्छ भनी सूचना चुहाउने प्रवृत्ति एवं कानुनी दायरामा नल्याउने वा निजको हितमा काम गर्ने गरेको पाइएको, जसले गर्दा कानुन कार्यान्वयन फितलो हुँदै जानुको साथै जनतामा विश्वास गुम्दै गएको ।
५. फौजी संरचनामा एक तह माथिका व्यक्ति सधैँ अभिभावक हुने मान्यता रहेको हुन्छ । फौजी संगठनका हरेक सदस्य जिम्मेवार भई आफ्नो नियुक्तिअनुसारको जिम्मेवारी निर्वाह गर्नु प्रमुख कर्तव्य रहेको हुन्छ । तसर्थ चेन अफ कमान्ड भन्दा बाहिर गई संगठनको नेतृत्वप्रति अविश्वास सिर्जना गरी आफूले मात्रै फाइदा लिइरहने प्रवृत्तिले संगठनलाई कमजोर बनाउनुका साथै स्वयं आफू पनि सोही संगठनको सदस्यको रूपमा एक कमजोर सदस्यको रूपमा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा आफूलाई समेत असर पारिरहेको हुने ।
६. संगठन प्रमुखको लागि यो एक बलियो कडीको रूपमा रहेको । जसले गर्दा फौजलाई चेन अफ कमान्डमा राख्न सहज हुने । नेतृत्वले सधैँ असल अभ्यासको सुरुवात गरी सही व्यक्तिको छनौट गरी बढुवा गर्न सक्ने कार्यको सुरुवात भएको ।
७. यस सूचना निकाल्ने कार्यलाई हटाएर बाह्य दबाब एवं प्रभाव शून्य पार्न सफल हुने । जसले गर्दा बढुवा हुने व्यक्तिले बढुवा कहिले हुने भन्ने विषयमा जानकारी प्राप्त नगर्ने र शक्ति केन्द्र धाउनका लागि अवसर नै नपाउने हुँदा यसले फौजी सदस्यहरूको बानी र व्यवहारलाई समेत सच्याउन सहयोग पुग्ने ।
८. अबको समय भनेको नेतृत्व बलियो हुने हो तर हाबी हुने होइन । असल मनसायले गरेका कार्यहरूले संगठनको प्रतिष्ठालाई बढाउनलाई सहयोग पुग्ने ।
९. चेन अफ कमान्ड र अनुशासन पूर्ण रूपमा पालना गराउन संगठनभित्रै बाँधिन सक्ने वातावरण सिर्जना भएको ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया