पोखरा । कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ पोखरा महानगरपालिका–१९ पुरनचौरको चुरुङ्गामा भोलि दोस्रो संस्करणको दाइँ महोत्सव आयोजना हुने भएको छ ।
पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास संस्थासँगको सहकार्यमा र पोखरा महानगरपालिका तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा महोत्सव आयोजना गर्दैछ ।
परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार कृषि पर्यटनमार्फत देशको पर्यटन क्षेत्रमा फराकिलो पहुँच बनाउने, नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्य महोत्सवको मूल लक्ष्य हो ।
महोत्सव संयोजक हरि भुजेलले भने, ‘कृषकलाई प्रोत्साहन गर्ने, नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने र पर्यटन प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको हो।’
भोलि हुने महोत्सवमा उत्कृष्ट गोरुपालक प्रतियोगिता, उत्कृष्ट धान उत्पादक प्रतियोगिता, धान चुट्ने प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता, गुन्द्री बुन्ने प्रतियोगिताजस्ता विभिन्न प्रतियोगितात्मक गतिविधि सञ्चालन हुनेछन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले भने, ‘पर्यटनसँग हरेक क्षेत्र जोडिएको हुन्छ, र कृषि पर्यटन पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण पक्ष भएकाले यस्तो महोत्सव आयोजना गरिएको हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया