काठमाडौं । गृह मन्त्रालय बढुवा समितिको सचिवालयले सशस्त्र प्रहरीमा रिक्त डीआईजी र एसएसपीमा तीन जनालाई बिहीबार बढुवा सिफारिस गरेको छ । वरीयतालाई आधार मानेर बढुवा सिफारिस गरिएको हो ।
सशस्त्र प्रहरीमा यसअघि बढुवा सिफारिसका लागि पहिला सूचना निकाल्ने चलन थियो । तर सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली २०८२ मा यो व्यवस्था हटाइएकाले पहिलोपटक सिधै सिफारिस गरिएको हो ।
सशस्त्रमा हाल साधारण समूह साधारण उपसमूहतर्फ एक डीआईजी र सशस्त्र प्रहरी सेवा प्राविधिक समूहको स्वास्थ्यतर्फ एक एसएसपीको पद रिक्त थियो ।
जसअनुसार एसएसपीको पहिलो वरीयतामा रहेका कृष्णराज पाठक डीआईजीमा सिफारिस भएका छन् । सशस्त्र प्रहरीका प्रवक्तासमेत रहेका डीआईजी कालीदास धौवजीले ३० बर्से सेवा अवधिका कारण असोज २६ गतेदेखि अनिवार्य अवकाश पाएपछि डीआईजीको एक पद रिक्त भएको थियो । धौवजीले अवकाश पाएको डेढ महिनापछि रिक्त पदमा बढुवा सिफारिस गरिएको हो ।

डीआईजी सिफारिसमा परेका पाठक नेपाल प्रहरीमा प्राविधिक सईमा भर्ना भई सशस्त्रमा स्थानान्तरण भएका अधिकृत हुन् । वरीयतामा पहिलो नम्बरमा भएपनि डीआईजीको यसअघि भएको चार पटकको बढुवामा उनलाई छुटाइएको थियो ।
यस्तै, सशस्त्र प्रहरी सेवा प्राविधिक समूहको स्वास्थ्यतर्फ रिक्त एसएसपीमा डा. प्रवीण नेपाल सिफारिस भएका छन् । एसएसपी डा. शैलेन्द्रमान श्रेष्ठको अवकाशसँगै एसएसपीको एउटा पद रिक्त थियो । एसपीको पहिलो वरीयतामा डा. प्रवीण नेपाल थिए । त्यसपछि डा. रोशु थापा, डा. मनोरञ्जन श्रेष्ठ, डा. सुमित्रा थापा र डा.सौजन्य कर्माचार्य छन् ।

यस्तै, बढुवा समितिले पाठक डीआईजीमा बढुवा भएपछि रिक्त हुने पदमा पहिलो वरीयताका एसपी समिक महर्जनलाई बढुवा सिफारिस गरेको छ । उनी सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकको दोस्रो लटको पहिलो नम्बरका एसपी हुन् ।

२०७७ साल जेठ ५ गते भएको दोस्रो लटको बढुवामा समिककुमार महर्जन, महेश अधिकारी, दीपककुमार थापा, राजु श्रेष्ठ, विजयकुमार केसी, सुधीर सुवेदी, सुरेश सापकोटा, मनोज थापा, प्रकाशकुमार सुवेदी, दीपेन्द्र कुँवर (क), सुरेन्द्र बुढाथोकी, महेश केसी, सञ्जय भट्टराई, अर्जुन खत्री, जनकराज बस्नेत, नरबहादुर राउत, सुभाष भण्डारी, राजेन्द्र थापा र द्रोणकुमार विष्ट परेका थिए ।
उता, मन्त्रिपरिषदबाट हालै पारित सशस्त्र प्रहरी बल नेपालको नयाँ संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) पश्चात् सशस्त्र प्रहरीमा तीन नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गरिएको भएपनि अहिले यसलाई थाँती राखिएको छ ।
हालै पारित सशस्त्र प्रहरी बल नेपालको नयाँ संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) पश्चात् इन्टेलिजेन्स ब्युरोको कामकारबाहीलाई थप प्रभावकारी बनाउनका लागि अधिकृतस्तरका ३८ जनासहित सशस्त्र प्रहरी नायव महानिरीक्षकले कमान्ड गर्ने गरी कार्यालयको स्तरवृद्धि गरिएको थियो ।
यस्तै, सशस्त्र प्रहरी बल नेपालको प्रमुख म्यान्डेटको रूपमा रहेको विपद् व्यवस्थापन महाशाखा सशस्त्र प्रहरी नायव महानिरीक्षकले कमान्ड गर्ने गरी निर्देशनालयको रूपमा स्तरवृद्धि गरिएको थियो ।
साथै सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ४ को उपनियम ४ मा सशस्त्र प्रहरी बल नेपालको कानुन उपसमूहतर्फ सशस्त्र प्रहरी नायव महानिरीक्षक पद रहने व्यवस्था रहेकोमा कानुन समूहबाट गरिने मानवअधिकार र लैंगिक विषय, विभागीय कारबाही प्रक्रिया, सशस्त्र प्रहरी ऐन बमोजिम गठित सशस्त्र प्रहरी विशेष अदालत सम्बन्धी कामकारबाही र सम्मानित अदालतहरूमा संगठनको तर्फबाट गरिने प्रतिरक्षा जस्ता अति संवेदनशील विषयहरूमा प्रभावकारी समन्वय र कार्यसम्पादनका लागि संगठनको आवश्यकता र औचित्यताको आधारमा महाशाखालाई निर्देशनालयको रूपमा स्तरवृद्धि गरी उल्लेखित तीनवटै कार्यालयहरूमा आन्तरिक समायोजन मार्फत सशस्त्र प्रहरी नायव महानिरीक्षकहरूको दरबन्दी सृजना गरिएको थियो ।
यसैगरी काठमाडौं उपत्यकाको विद्यमान शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपाल नं. १८ नीलबाराही गण कीर्तिपुरलाई रेजिमेन्ट गणको रूपमा स्तरोन्नति गरी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकले कमान्ड गर्ने गरी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको दरबन्दी सृजना गरी हुल तथा दंगा व्यवस्थापन विशेष गण बनाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया