प्रहरी कार्यालयबाट लुटिएको हतियार लुटपाटमा प्रयोग, ‘डेलिभरी ब्वाई’समेत लुटिए

भदौ २४ गते प्रहरी कार्यालयबाटै लुटिएको थियो हतियार

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेलाई तीन दिनअघि एउटा सूचना आयो, पेस्तोल देखाएर दुई युवाले लुटपाट गरिरहेका छन् ।

करिब २५ वर्ष उमेर समूहका दुई युवाले काठमाडौंको सोह्रखुट्टे, खुसिबुँ, ठमेल लगायतका क्षेत्रमा लुटपाट गरिरहेको भन्ने सूचना पाएपछि प्रहरी घिमिरेको टोली चनाखो बन्यो । सामान्य लुटपाटमै पेस्तोल देखाएको कुरा विश्वासयोग्य नभएको भन्दै नक्कली हतियार होला भन्ने लाग्यो ।

तर जेन जी आन्दोलनका क्रममा प्रहरी कार्यालयहरूबाटै धेरै हतियार लुटिएका कारण सक्कली हतियार नै हुन सक्ने भन्दै उनीहरूको व्यापक खोजी भयो ।

सन्दिग्धको खोजी गर्ने क्रममा बुधबार दिउँसो दुई युवालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)कै प्रहरी टोलीले नियन्त्रणमा लियो । पक्राउ परेकाहरूको शरीर खानतलासी गर्दा उनीहरूको साथबाट प्रहरीले नै बोक्ने एक थान पेस्तोल भेटियो । यद्यपि पेस्तोलमा गोली भने थिएन । अनि पक्राउ परेकाहरू थिए मकवानपुरको बागमती गाउँपालिका ७ स्थायी ठेगाना भएका २५ वर्षीय निकेश विक र २५ वर्षीय नै सुरज बिक । नातामा उनीहरू काका बाउका छोराहरू थिए ।

सक्कली पेस्तोल नै भेटिएपछि प्रहरीले ती दुई युवालाई तत्कालै नियन्त्रणमा लिई टेकुस्थित कार्यालयमा ल्याएर सोधपुछ सुरु गर्‍यो । उक्त हतियार देखाएर लुटपाट गरिएको सम्बन्धमा प्रारम्भिक सोधपुछ गर्दा लुटपाट गरिएको कुरा इन्कार गर्दै हतियार भने बालकृष्ण गैरे भन्ने साथीले दिएको बयान दिए ।

बालकृष्णसँग समेत पेस्तोल रहेको सूचना आएपछि …
पक्राउ परेका निकेश र सुरजले आफूहरूले उक्त हतियार साथी बालकृष्ण गैरेबाट ल्याएको बयान मात्रै दिएनन्, बालकृष्णसँग अर्को एक थान पेस्तोल समेत रहेको बताए । बालकृष्णको बुवाको भृकुटीमण्डपमा चिया पसल रहेको र बालकृष्ण त्यहीँ भेटिने जानकारी समेत उनीहरूले दिए ।

अनिल घिमिरे, डिएसपी

त्यसपछि डिएसपी घिमिरेको टोली बालकृष्णलाई नियन्त्रणमा लिन बुधबार दिउँसो भृकुटी मण्डपमा रहेको चिया पसलमै पुगे । तर त्यतिबेला बालकृष्ण त्यहाँ थिएनन् । निकेश र सुरजलाई नै सम्पर्क गर्न लगाएर बालकृष्णलाई चिया पसलमै बोलाइयो । उनी बुवाले सञ्चालन गरेको चिया पसलमा चिया पकाउने लगायतका काममा सहयोगसमेत गर्ने गर्दथे ।

प्रहरीले बालकृष्णलाई समेत पक्राउ गरेपछि उनीसँग हतियारबारे सोधपुछ गरियो । तर बालकृष्णले निकेश र सुरजलाई चिनेको र आफ्ना साथीहरू रहेको बताएपनि हतियार दिएको र आफूसँग समेत हतियार भएको कुरा इन्कार गरे ।

तर प्रहरीले आफ्नै तरिकाले केरकार गरेपछि बालकृष्णले निकेश र सुरजलाई हतियार आफूले दिएको र आफूसँग समेत हतियार रहेको स्वीकार गरे । त्यसपछि बालकृष्णकै सूचनाका आधारमा प्रहरीले बालकृष्णले आफ्नो चिया पसलभन्दा केही भित्र रहेको झाडीमा लुकाएको अवस्थामा अर्को एक थान पेस्तोल समेत बरामद भयो । बालकृष्णले ती हतियारहरू भदौ २४ गते काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट तीनै जना भई लुटपाट गरी लगेको स्वीकार गरे ।

अनुसन्धानमा देखियो अपराधमा पटक पटकको संलग्नता
जब प्रहरीले तीनै जनालाई पक्राउ गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याएर थप अनुसन्धान सुरु भयो, तब निकेश विकको अपराध फेहरिस्त खुल्यो । निकेश यसअघि पनि डाँका चोरी, अनलाइन ठगी र हतियार देखाएर लुटपाटमै संलग्न भएको खुल्यो ।

काजीकुमार आचार्य, एसपी

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार निकेश विक केही दिनअघि बागबजारमा भएको फुड डेलिभरी ब्वाईको लुटपाटमा समेत संलग्न रहेको खुल्यो ।

मंसिर ५ गते बागबजारमा यसरी भयो फुड डेलिभरी ब्वाईको लुटपाट

गत मंसिर ५ गते भोज नामक फुड डेलिभरी एपमा एउटा अर्डर आयो । बिहानको २ बजे फुडका लागि अनलाइन अर्डर आयो र डेलिभरीको लोकेसन बागबजार देखायो ।

भोजले निरज चौधरी नाम गरेका डेलिभरी ब्वाईलाई असाइन गर्‍यो । चौधरी पनि रातको २ बजे फुड लिएर डेलिभरीका लागि बागबजारमा पुगे । त्यहाँ पुगेर डेलिभरीका लागि उल्लेख भएको नम्बरमा सम्पर्क गरे ।

अर्डर आएपछि सुरज विक फुड लिने आए । उनले फुड लिएर भुक्तानीका लागि राइडर वा डेलिभरी ब्वाईको क्यु आर कोड मागे । जब डेलिभरी ब्वाईले मोबाइल निकालेर क्यु आर देखाउन खोजे, सुरजले उसको मोबाइल नै लिइदियो । डेलिभरी ब्वाईले यो के गरेको भन्दा बढ्दा नबोल, के के छ सबै निकाल भन्यो ।

सुरुमा चौधरीले प्रतिकार गर्न खोजेपछि टाढाबाटै अर्को व्यक्तिले पेस्तोल जस्तै केही देखायो । चौधरीले तर्साउन खोजेको होला भन्दै फेरि प्रतिकार गरे । तर टाढा रहेका ती व्यक्ति नजिकै आएर चौधरीको कन्चटमा पेस्तोल राखेर के के छ सबै निकाल नत्र गोली चलाइदिन्छु भन्दै धम्क्यायो ।

सक्कली पेस्तोल नै देखेपछि चौधरीले आफ्नो मोबाइल, एयरपड र आफूसँग रहेको १२ हजार ५ सय रकम समेत झिकेर दिए ।
त्यसपछि सुरज र अर्का व्यक्तिले चौधरीको मोटरसाइकलको पछाडि रहेको डोरले चौधरीलाई बागबजारभित्रको गल्लीको पोलमा बाँधेर फरार भए । पछि चौधरीले हारगुहार मागेपछि राति उनको उद्धार भयो । उक्त घटनाका सम्बन्धमा प्रहरी वृत्त सिंहदरबारमा जाहेरी समेत पर्‍यो ।

यता सिंहदरबार प्रहरीले ती दुई सन्दिग्धको खोजी गरिरहेको समयमा बुधबार अपराध अनुसन्धान कार्यालयको प्रहरीले हतियारसहित व्यक्ति पक्राउ परेको जानकारी आएपछि उक्त घटनामा संलग्न हो कि भन्दै खोजी भयो । पहिचान गर्दा यिनै दुई व्यक्ति सुरज र निकेश रहेको खुल्यो । उक्त दिन पेस्तोल देखाउने व्यक्ति निकेश विक रहेको खुल्यो र पक्राउ परेकामध्ये निकेश र सुरजले घटनामा संलग्नताबारे स्वीकार गरे ।

अन्य घटनामा पनि संलग्नताबारे प्रहरीको डाटाबेस सिआरएस (क्रिमिनल्स रेकर्ड सिस्टम)मा हेर्दा निकेश विक अन्य आपराधिक घटनाहरूमा पनि संलग्न रहेको पाइयो ।

प्रवक्ता आचार्यका अनुसार निकेश विकले २०८१ साल भदौ महिनामा महोत्तरीको गौशालामा डाँका चोरी गरेको समेत पाइएको छ । विकको समूहले महोत्तरीको गौशालामा पुनम देवीको घरमा डाँका चोरी गरेपछि इलाका प्रहरी कार्यालय, गौशालामा जाहेरी परेको थियो । उक्त घटनामा निकेश भने फरार भएका थिए । प्रहरीले उनको खोजी गरिरहेको थियो ।

त्यसै गरी निकेशले २०८१ साल माघमा अनलाइन ठगी गरेको समेत पाइएको छ । निकेश विक लगायतका व्यक्तिहरूले अनलाइनबाट विभिन्न प्रलोभन देखाई ख्याम नारायण सापकोटा लगायतका व्यक्तिबाट ५ लाख रुपैयाँभन्दा बढीको ठगी गरेको पाइएको छ । उक्त कसुरमा समेत उनी फरार रहेको पाइएको छ ।

प्रहरीबाट लुटिएका हतियार लुटपाटमै प्रयोग

भदौ २४ गतेको जेन जी प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटपाट गरिएका हतियार नै देखाएर विभिन्न आपराधिक घटनाहरू भइरहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार साना हतियार देखाएर आपराधिक घटना गराउनेहरू बढेका छन् ।

लुटिएका साना हतियारका खोजीका लागि कार्यालय लागि परेको भन्दै कोहीसँग हतियार रहेको सूचना भएमा तत्काल प्रहरीलाई खबर गरिदिन समेत आग्रह गरेका छन् ।

यस्ता साना हतियार अपराध न्यूनीकरणका लागि चुनौती रहेको भन्दै यस्ता हतियार नियन्त्रण र आपराधिक कार्यमा संलग्नविरुद्ध प्रहरी अगाडि बढिरहेको बताए । कतिपय हतियारको प्रयोग ठुला अपराधमा समेत भएको पाइएको भन्दै यस्ता हतियारले सुरक्षा चुनौती बढाएकाले आफूहरूले व्यापक मात्रामा त्यस्ता हतियारको खोजी गरिरहेको बताए ।

उनले भने, ‘साना हतियारले चुनौती बढाएकै छ । प्रहरीबाट लुटिएका हतियारहरू सानो भन्दा सानो अपराधमा पनि प्रयोग हुन थालेको छ, जसका कारण त्रास बढेको सत्य हो । हामी त्यस्ता हतियार र हतियार लिनेहरूलाई नियन्त्रणमा लिन लागिपरेकै छौँ, हामी सेलाएका छैनौँ, बरु तातेका छौँ ।’

यो पनि…

पेस्तोल देखाएर ‘फूड डेलिभरी ब्वाई’को लुटपाट, दुई थान हतियारसहित समातिए आरोपित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?