‘सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानकर्ताको अर्बौँ रकम सही ठाउँमा लगानी गरौँ’

लोकपथ
175
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानकर्ताको अर्बौँ बढी रकम मुलुकका ठुला पूर्वाधारदेखि उत्पादनमूलक क्षेत्रहरूमा परिचालन गर्नुपर्ने बताएका छन् । 

सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ढकालले अहिले कोषमा ९५ अर्ब भन्दा बढी रकम जम्मा भएको र त्यो रकम सही रूपमा सदुपयोग नभएको भन्दै उनले चिन्ता व्यक्त गरे । 

उनकाअनुसार लगानी गर्नका लागि कार्यविधि बाधक भए त्यसलाई सच्चाउनुपर्छ । कोषले उत्पादनमूलक क्षेत्रमा लगानी नगरेसम्म त्यसको अर्थ नरहने ढकालको भनाइ रहेको छ । 

ढकालले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरू अझै पनि धेरै सामाजिक सुरक्षाको दायरामा रहेको भन्दै तिनलाई तत्काल समेट्न आग्रह गरे । 

उनले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई औपचारिक क्षेत्रमा ल्याउन राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए । ढकालकाअनुसार साना तथा मझौला उद्योगहरूलाई सरकारको तर्फबाट सहुलियत दिएर त्यहाँ काम गर्ने श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्छ ।

महासंघ अध्यक्ष ढकालले भने,‘अहिले वास्तवमा सबै पैसा चाहे फिक्समा भनौँ चाहे विभिन्न बन्डमा राख्ने गरिएको छ । यसलाई रोजगारी सिर्जना गर्ने र अवसर भएको उत्पादनमूलक क्षेत्रमा लगानी गरेर आम्दानी बढाउनुपर्छ । अहिलेको पोलिसि जुन छ, त्यो बाधक पनि रहेको छ । यसलाई परिवर्तन गर्नुपर्छ ।’

औद्योगिक क्षेत्र, ट्रेड युनियन मजदुर बिचमा असल श्रम सम्बन्ध कायम गर्दै औद्योगिक वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष ढकालकाअनुसार श्रमिकको कल्याणका लागि कोषसँग निजी क्षेत्र सहकार्यका लागि तयार रहेको छ । असल सुमधुर सम्बन्ध कायम गर्न उद्योग वाणिज्य महासंघ तयार रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?