सिमरा घटनाबारे ओलीले बोलेको भिडियो हटाउन प्रेस काउन्सिलको निर्देशन

लोकपथ
1.4k
Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भिडियो हटाउन एक फेसबुक पेजलाई निर्देशन दिएको छ ।

काउन्सिलले मेरो न्यूज डट कमलाई ओलीले सिमरा घटनाबारे उत्तेजक अभिव्यक्ति दिएको र सोही भिडियोलाई स्थान दिइएको भन्दै त्यसलाई हटाउन भनेको हो ।

केही दिनअघि एमाले नेता महेश बस्नेत लगायतका नेताहरु बारा जाँन लाग्दा जेनजी समूहले विरोध जनाएको थियो । बस्नेत हवाई मार्गबाट त्यहाँ जान लागेको जानकारीपछि सिमरा विमानस्थलमा समेत जेनजी समूहले तोडफोड गरेको थियो । तर जेनजीको प्रदर्शन उग्र बनेपछि बस्नेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्किएका थिए । सोही दिन एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एयरपोर्ट नै बन्द गरेर नेताहरुलाई कार्यक्रममा जानबाट रोकिएको टिप्पणी गरेका थिए ।

सिमरा घटनाबारे ओलीले के भनेका थिए ?

सिमरा एयरपोर्ट बन्द भयो । हाम्रा नेताहरू जान सक्नुभएन । एयरपोर्ट बन्द गरेर नेताहरूलाई जानबाट रोकियो । एयरपोर्टमै तोडफोड गर्न दिइयो । यो देश कस्तो भयो ? ५०–६० मान्छे जम्मा गरेर, ढुंगामुढा गरेर एयरपोर्ट बन्द गराइदिने ? के हो यस्तो जतिबेला चाह्यो, जेनजी भन्यो, एयरपोर्ट बन्द, जतिबेला चाह्यो, जेनजी भन्यो, सभा बन्द ? अनि भन्छन् चुनाव गर्ने रे ! सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ? पहिले जेनजी भनेर आगो लगाउने, तोडफोड, लुटपाट गर्ने आतंककारीलाई नियन्त्रण गर । सभा गर्न नपाउने अनि चुनाव हुन्छ ? चुनाव प्रचारमा जान नपाइने, सभामा भाग लिन जान नपाइने, अनि चुनाव हुन्छ ?

म प्रधानमन्त्रीज्यूसँग सोध्न चाहन्छु, कस्तो चुनाव गराउन चाहनुहुन्छ ? बोल्यो कि मान्छे समातेर थुनाउनुहुन्छ । सभा गर्न खोज्यो गुण्डा लगाउनु हुन्छ । मान्छे हिँड्दा एयरपोर्ट बन्द गराउनुहुन्छ । कस्तो चुनाव गराउने ? यो देशको दुर्भाग्य हो । तर, यही कुरा अब चलिरहन दिनुहुँदैन । यही कुरा चल्दैन । बारामा होस् कि जहाँसुकै होस, एमालेमाथि हमला हुन्छ भने एमाले भाग्ने होइन, (हात देखाउँदै) फनक्क फर्केर जवाफ दिन्छ । एमाले भागेर हिँड्छ भन्ने कसैले ठानेको भए नठाने हुन्छ ।

यस्तो छ प्रेस काउन्सिलको पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?