काठमाडौं । जेनजी प्रदर्शनबारे छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले हालसम्म सुरक्षा निकायका आधा दर्जनभन्दा बढी व्यक्तिसँग बयान लिइसकेको छ ।
राष्ट्रिय अनुसन्धान विभागको उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख ओम राना, सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठ र नेपाल प्रहरीका एसपीद्वय अपिल बोहरा र कुलदीप चन्दसँग बयान लिएको आयोगले राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापासँग पनि बयान लिएको छ । थापासँगको बयान बुधबार साँझ पूरा भएको हो ।
मुख्य अनुसन्धान निर्देशकको ३ वर्षे पदावधि पूरा गरेर थापा भदौ २८ मा सेवा निवृत्त भएका थिए । जेनजी प्रदर्शन हुँदा उनी गुप्तचर प्रमुख थिए ।
यस्तै आयोगद्वारा बयान लिइएका सशस्त्रका डीआईजी श्रेष्ठ उपत्यका हेर्ने नम्बर नम्बर–९ पशुपतिनाथ बाहिनीका प्रमुख हुन् ।
यस्तै, डीआईजी राना उपत्यका प्रहरी कार्यालयबाट सरुवा भएर सुदूरपश्चिम प्रदेशमा पुगेका छन् । डीआईजी रानाको बयान पनि बुधवार साँझ नै पूरा भएको हो ।
नेपाल प्रहरीका एसपीद्वय अपिल बोहरा र कुलदीप चन्द जिल्ला प्रहरी परिसर काठमाडौंबाट सरुवा भइसकेका छन् ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलाउने काम कानुनसम्मत भए नभएको र २४ गतेको विध्वंसबारे जाँचबुझ गर्ने कार्यादेश पाएको छ । ९ बाट काम सुरु गरेको आयोगले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ ।
आयोगले यसअघि पूर्व मुख्यसचिव एकनारायण अर्यालसँग पनि सोधपुछ गरेको थियो । उनी पदमा बहाल रहेकै बेला आयोगले मंसिर ४ गते उनीसँग सोधपुछ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया