काठमाडौं । एमालेको ११औँ महाधिवेशन नजिकिँदै जाँदा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवीकरण गरिसकेको आफ्नो पार्टी सदस्यता रोकेको भन्दै नेतृत्वप्रति असन्तुष्टि जाहेर गरेकी छिन् । उनले आफूले २ वर्षअघि नै पार्टी सदस्यता नवीकरण गरेको तर नेतृत्वले रोकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।
एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले आज बिहीबार बिहान आफ्नो फेसबुक पेजमार्फत ११औँ महाधिवेशनका लागि एमालेका सदस्यहरूलाई शुभकामना दिँदै आफू भने यसमा सहभागी हुनबाट वञ्चित भएको गुनासो गरेकी छिन् । महाधिवेशनमा आफ्नो भौतिक उपस्थिति नभए पनि एमाले परिवारको अभिन्न सदस्यको हैसियतले आफ्नो साथ रहने उनले उल्लेख गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘मैले दुई वर्षअघि नै विधानसम्मत ढंगले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण म स्वयं यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईंहरूका साथ निरन्तर रहनेछु ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता खारेज गर्दै विद्या भण्डारीलाई रोके पनि भण्डारी पक्षधर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
उनले विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ भन्ने दृढ विश्वास पनि व्यक्त गरेकी छिन् ।
एमालेको ११औँ महाधिवेशन यही मंसिर २७, २८, २९ गते हुँदै छ । उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारी र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा गरिने एमालेले जनाएको छ ।
यस्तो छ भण्डारीको पूरा शुभकामना सन्देश :
‘नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी परिवारका सबै सदस्यहरूलाई हार्दिक शुभकामना दिन चाहन्छ । विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु ।
महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ सिङ्गो पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएकाले यो आम जनताको समेत महत्वपूर्ण सरोकारको विषय हो ।
विशेष परिस्थितिका कारण निर्धारित समयावधिभन्दा एक वर्षअघि नै हुन गइरहेको यस महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, ऊर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पंक्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिने नै छ ।
मैले दुई वर्षअघि नै विधानसम्मत ढंगले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईँहरूका साथ निरन्तर रहनेछु ।
सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको आशा–भरोसाको केन्द्र तथा हाम्रो आस्था र विश्वासको धरोहर नेकपा (एमाले) को यो महाधिवेशन पूर्ण रूपले सफल होस् भन्ने अन्तरमनबाटै शुभेच्छा व्यक्त गर्दछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया