तोडियो १४ वर्षदेखि अलपत्र पारिएको कन्काई पुल निर्माणको ठेक्का

लोकपथ
252
Shares

काठमाडौं । झापा र गौरीगञ्ज जोड्ने ७२३ मिटर लामो कन्काई पुलको निर्माण ठेक्का अन्ततः रद्द गरिएको छ । हुलाकी राजमार्गअन्तर्गत पर्ने यो पुल १४ वर्षदेखि अधुरो थियो  ।

योजना कार्यालय इटहरीले पप्पु महादेवखिम्ती संयुक्त उपक्रम (जेभी) सँगको ठेक्का रद्द गरेको सार्वजनिक सूचना जारी गरेको छ । कार्यालयले गत असोजमा १५ दिनभित्र स्पष्टीकरण मागेको थियो, तर व्यवसायीको जवाफ सन्तोषजनक नहुँदा ठेक्का तोडिएको हो ।

यस पुलको निर्माण ठेक्का २०६८ जेठ ३१ मा सम्झौता गरिएको थियो । पाँचपटक म्याद थप्दा पनि निर्माण प्रगति ५६ प्रतिशत मात्र पुगेको थियो । ठेक्का रकम करसहित ३४ करोड ९ लाख रुपैयाँ थियो र व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ जमानत जफत हुने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले असोजमा पुल निरीक्षण गरेका थिए र काम नगर्ने ठेक्का तोड्न निर्देशन दिएका थिए ।

पुलका १९ स्पानमध्ये ८ वटा सकिएका छन् । बाँकी ११ मध्ये २ स्पानमा गर्डर राखिएको छ, ६ स्पानको जग हालिएको छ भने ३ स्पानको जग राख्न बाँकी छ । पुल नबन्दा स्थानीयहरू अस्थायी बाँसको पुल प्रयोग गर्न बाध्य छन्, जसले जोखिम बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?