पार्टीका उम्मेदवार विरुद्ध बागी उम्मेदवार बन्नेको सदस्यता खारेज

रुपन्देही, २२ कात्तिक । नेपाली कांग्रेस रुपन्देहीले मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार बनेका नेताहरुको पार्टी सदस्यता खारेज गरेको छ ।

पार्टीको उम्मेदवारविरुद्ध बागी उम्मेदवार दिएको भन्दै एकजना प्रतिनिधिसभा सदस्यका उम्मेदवार र पाँचजना प्रदेशसभा सदस्यका उम्मेदवारसहित उनीहरुका प्रस्तावक र समर्थक गरी १८ जनाको पार्टी सदस्यता खारेज गरेको हो ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले पार्टीको विधानअनुसार रुपन्देही क्षेत्र नं. १ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद पौडेल तथा उनका प्रस्तावक खुमलाल गौतम र समर्थक नीमबहादुर थापाको पार्टी सदस्यता खारेज गरेको बताए ।

त्यस्तै, क्षेत्र नं. ३ को ‘क’ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका जिल्ला सदस्य ओमकुमार श्रेष्ठ र उनका प्रस्तावक नारायणबहादुर कार्की र समर्थक राजेश जिसी, क्षेत्र नं. ३ को ‘ख’ बाट प्रदेश सभा समस्यमा नेपाली काँग्रेस वीपीबाट उम्मेदवारी दिएका डोलराज भुसाल तथा उनका प्रस्तावक सन्तकुमार यादव र समर्थक रामनारायण अहिरलाई पार्टीको साधारण सदस्यता नरहने गरी कारबाही गरेको सभापति रज्जाकले जनाए ।

त्यस्तैगरी, रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका अमृतलाल भट्टराई र उनका प्रस्तावक शालिकराम पाण्डे तथा समर्थक दिनेशप्रसाद पाण्डे, क्षेत्र नं. ४ को ‘ख’ बाट प्रदेश सभा सदस्यतामा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि वीरेन्द्र कलवार र उनका प्रस्तावक सीताराम पाल तथा समर्थक मनोजकुमार कलवार, क्षेत्र नं. ५ को ‘ख’ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि अमेरिका कोहार तथा उनका प्रस्तावक कलामुद्दिन मुसलमान र समर्थक दिनेशचन्द्र बर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको रज्जाकले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?