कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमाथि खनिए प्रदीप ज्ञवाली

लोकपथ
644
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीमाथि खनिएका छन् ।

भण्डारीले केही दिनअघि ०६४ सालमा माओवादी सशस्त्र द्वन्द्वबाट मुलुक भर्खर बाहिर निस्किएको बेलामा समेत निर्वाचन सम्पन्न भएको बताएका थिए ।

सो विषयमा आपत्ति जनाउँदै पूर्वमन्त्री समेत रहेका नेता ज्ञवालीले त्यो बेला र अहिलेको अवस्था फरक रहेको बताए । त्यसबेला सशस्त्र द्वन्द्व अन्त्यपछिको विशेष व्यवस्था र अहिलेको अवस्था फरक रहेको टिप्णी गरे ।

‘कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीज्यूले निर्वाचनमा सुरक्षाको विषयलाई लिएर ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भन्नुभएको सुनियो–देखियो । एउटा राजनीतिक उद्देश्य सहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना नै हास्यास्पद छ । त्यसमाथि, माओवादीका हतियार कन्टेनरमा दुईवटा चाबी सहित सुरक्षित गरिएको र २८ वटा शिविरमा माओवादी लडाकुलाई सीमित गरेर अनमिनको निगरानीमा राखिएको तथ्य माननीय प्रमुख आयुक्तलाई थाहै हुनु पर्ने हो । भलै संविधान सभाको पहिले निर्वाचनमा लडाकु र हतियार दुबैको दुरुपयोगका अनेकौँ घटना घटित भए,’ ज्ञवालीले भने ।

त्यस्तै संवदेनशील जिम्मेवारीमा रहेको व्यक्तिले शान्ति सुरक्षाको विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै कटाक्ष गरे ।

‘संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तित्वबाट शान्ति सुरक्षाको यति सङ्गीन विषयमा यति गैरजिम्मेवार अभिव्यक्तिको अपेक्षा थिएन,’ उनले भनेका छन् ।

त्यसो त सरकार र निर्वाचन आयोगले आगामी फागुन २१ कै मितिमा निर्वाचन हुनसक्ने दाबी गरिरहँदा एमालेले भने निर्वाचनको वातावरण नबनेको बताइरहेको छ । संसद् पुनस्थापनाकै पक्षमा रहेको एमालेले पछिल्ला दिनहरुमा सरकारले निर्वाचन गराउन नसक्ने दाबी समेत गर्दै आइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?