काठमाडौं । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा यही मङ्सिर १७ देखि २१ गतेसम्म ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक सञ्चालन हुने भएको छ ।
‘लगानीको सम्वर्द्धन ः उद्योग–व्यवसायको प्रवर्द्धन’ भन्ने आदर्श नारासहित आयोजना गरिएको उक्त मेला पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ ।
सङ्घद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष गोकर्ण कार्कीले गण्डकी प्रदेशमा व्यावासयिक सम्भावनाको खोजी तथा उद्यमशीलता प्रवद्र्धनको उद्देश्यले मेला आयोजना गरिएको बताए ।
‘पोखरालगायत गण्डकी प्रदेशकै औद्योगिक, कृषिजन्य, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रका उत्पादनको प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको हो,’ उनले भने । मेलामा एक सय २० व्यावसायिक ‘स्टल’ रहने अध्यक्ष कार्कीले जानकारी दिए । ‘जेनजी’ प्रदर्शनपछि गिरेको निजी क्षेत्रको मनोबल उकास्न यस्ता मेला–महोत्सवले मद्दत पुग्ने र आर्थिक गतिविधि पनि बढ्ने उहाँको भनाइ छ । मेलामा औद्योगिक उत्पादन, सूचना–प्रविधिका सामान, हस्तकला, कृषिजन्य उत्पादनलगायतको प्रदर्शनी तथा बिक्री कक्ष रहने जनाइएको छ ।
मेलामा उद्यमशीलता प्रवद्र्धन, लगानीमैत्री नीति, नवप्रर्वतन, सूचना–प्रविधि र कृषिसँग सम्बन्धित विषयमा परिसंवाद कार्यक्रम पनि सञ्चालन गरिने भएको छ । मेलामा दर्शकको आकर्षण बढाउन परम्परागत एवं मौलिक सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने अध्यक्ष कार्कीले बताए । कम्युटर एसोसिएसन अफ नेपाल (क्यान), कास्की शाखाका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामा सूचना–प्रविधिसँग सम्बन्धित हार्डवेयर र सफ्टवेयर उत्पादनको प्रदर्शनी तथा बिक्री कक्ष रहने जानकारी दिए । ‘केही नयाँ प्रडक्ट लन्चसमेत गर्ने तयारीमा छौँ, आइसिटीसम्बन्धी अन्तरक्रिया, करिअर काउन्सिलिङलगायतका कार्यक्रम मेलामा हुनेछन्,’ उनले भने ।
मेलाबाट ५० लाख आम्दानी हुने र ४५ लाख खर्च हुने आयोजकको अनुमान छ । मेलाबाट बचत भएको रकम उद्यमशीलता प्रवद्र्धन तथा व्यवसायीको क्षमता अभिवृद्धिमा खर्च हुने जनाएको छ । मेलामा प्रवेश निःशुल्क गरिएको छ । मेला सफल पार्न मणिपाल अस्पतालसँग सहकार्य गरिएको सङ्घले जनाएको छ ।
कम्युटर एसोसिएसन अफ नेपाल ९क्यान०, कास्की, नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश मेलाको सह–आयोजक रहेको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड मेलाको प्रवद्र्धकको भूमिकामा रहेको सङ्घका अध्यक्ष कार्कीले बताउनुभयो । सङ्घले विसं २०४२ मा पहिलोपटक पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया