काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी नेतृत्वका लागि दाबी पेस गर्ने घोषणा गरेका छन् ।
मंगलबार पोखरेलले आगामी पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् ।
मंगलबार वक्तव्य जारी गर्दै पोखरेलले आफू अध्यक्षमा उम्मेदवार बन्ने घोषणा मात्र गरेका छैनन्, वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई अभिभावकीय भूमिकामा रहन समेत आग्रह गरेका छन् ।
‘पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । अभिभावकीय भूमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमरेडलाई अनुरोध गर्दछु,’ पोखरेलले वक्तव्य जारी गर्दै भनेका छन् ।
नेकपा एमालेले गत भदौको तेस्रो साता गरेको विधान महाधिवेशनले ओलीलाई नै पुनः अध्यक्ष बन्ने बाटो खुला गरिदिएको थियो । त्यसअघिको ७० वर्षीय उमेर हद र २ कार्यकालको व्यवस्थालाई हटाएसँगै ओली नै अध्यक्ष रहिरहने गरी विधान नै परिवर्तन गरिएको थियो ।
यता दुई कार्यकाल राष्ट्रपति बनेकी विद्यादेवी भण्डारी पार्टीमा सक्रिय हुने घोषणा गर्दा एमालेले सदस्यता नवीकरण नै नगरी बाटो रोकिदिएको थियो । आगामी महाधिवेशनमा विद्या र ओलीबिच टक्कर पर्ने देखिएपछि सदस्यता नवीकरण नहुने भन्दै विद्याको बाटो रोकिए पनि पोखरेलले ओलीलाई टक्कर दिन लागेका हुन् ।
त्यसो त एमालेमा ओलीविरुद्ध बोल्ने र प्रतिष्पर्धा गर्नेलाई भित्तामा पुर्याउने प्रवृत्ति हाबी छ । यसअघि १०औँ महाधिवेशनमा ओलीसँग प्रतिष्पर्धा गरेका डा. भीम रावल हुन् या उपाध्यक्षमा प्रतिष्पर्धा गरेका घनश्याम भुसाल । निर्वाचनमा दुवै नेतालाई टिकट नै नदिएर ओलीले प्रतिशोध साध्दै टिकट नै दिएका थिएनन् । अन्ततः दुवै नेताहरु एमालेको राजनीतिबाट किनारा लाग्दै फरक कित्तामा उभिन बाध्य भएका छन् ।
केही दिनअघि ओलीले आफूले बोलेपछि महाधिवेशन सकिने भन्दै अरुलाई प्रतिष्पर्धामा नै नआउन चेतावनी दिएका थिए । तर त्यसको विरुद्धमा पोखरेलले उम्मेदवारी घोषणा गरेसँगै एमालेको राजनीति रोचक बन्ने देखिन्छ । विद्या भण्डारीलाई राजनीतिमा सक्रिय बनाउने र आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनाउने चाहना पोखरेलले राखेका थिए । तर ओलीले विद्याको बाटो नै छेकिदिएपछि भने उनी आफैँ अघि सरेका हुन् ।
आफू अध्यक्षमा प्रतिष्पर्धा गरेपछि प्रतिशोधमा परिन सक्ने पूर्वमूल्यांकन गरेका पोखरेलले पार्टीमा आन्तरिक प्रतिष्पर्धालाई निषेध र प्रतिशोध नगर्न चेतावनी दिएका छन् ।
उनले वक्तव्यमा भनेका छन्, ‘आन्तरिक प्रतिष्पर्धालाई निषेध र प्रतिशोधबाट मुक्त गरिनुपर्दछ । प्रतिष्पर्धाको परिणामलाई सर्वस्वीकार्य गर्ने उच्चतम लोकतान्त्रिक संस्कार विकास गरिनुपर्छ । कमरेडली भावनाका साथ सहभागिता र सहकार्यको व्यवहार विकास गरिनुपर्दछ । निर्वाचनपछि पनि प्रतिष्पर्धीबिच सँगसँगै काम गर्ने संस्कृतिको विकास गरिनुपर्छ ।’
नेकपा एमालेले ११औँ महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते काठमाडौंमा गर्दैछ । एमालेमा अन्य उम्मेदवारहरु खडा भइसकेका छैनन् । अध्यक्ष बाहेक अन्य पदमा केही नेताहरुले आकांक्षा देखाए पनि बाहिर भने सार्वजनिक गरिसकेका छैनन् ।
जेनजी आन्दोलनपछि केही नेताहरुले ओलीविरुद्ध आवाज उठाउन थालेपछि ओलीले ती नेताहरुलाई महाधिवेशनमा अप्ठेरो पार्न सक्ने संकेत समेत देखिएको छ ।
अझै २०–३० वर्ष आफू राजनीतिमा सक्रिय हुने र कसैलाई आश नगर्न चुनौती दिइरहेका ओलीको अघि भिड्न लागेका पोखरेलले कसरी उभ्याउनेछन् र जित वा हारपछि एमालेमा कसरी रहनेछन् त्यो भने हेर्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया