काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले ३५ वर्षको सरकारी सेवापछि मंगलबार अनिवार्य अवकाशमा जाने क्रममा बिदाइ समारोहमा प्रशासन चलाउने शक्ति पदभन्दा पनि विश्वास महत्त्वपूर्ण हुने बताएका छन् ।
प्रधानमन्त्री तथा उच्च अधिकारीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा उनले सरकारी सेवामा चुनौती, आलोचना र असहज परिस्थितिहरू अपरिहार्य हुने स्पष्ट पारे ।
अर्यालले भने, ‘सरकारी सेवा केवल प्रशंसा र सम्मानको कथा मात्र होइन, यसमा चुनौती, असहजता, आलोचना र कहिलेकाहीँ गलत आंकलन पनि आउन सक्छ। विशेष गरी संवेदनशील र निर्णायक समयमा सबैलाई सन्तुष्ट पार्न सकिँदैन ।’ उनले जेनजी आन्दोलन, राष्ट्रिय सम्पत्तिको सुरक्षा र शान्ति व्यवस्थापनजस्ता कठिन परिस्थितिमा उपलब्ध साधन र सूचनाको आधारमा सकेसम्म उचित निर्णय लिएको अनुभव साझा गरे ।
उनी भर्चुअल सचिव बैठक, राजनीतिक समन्वय र नागरिक सरकार गठनमा निजामती सेवाको महत्त्वपूर्ण भूमिका रहेकाले आगामी दिनमा सेवाको उच्च महत्त्व अझ बढ्ने बताएका छन् । संघीय निजामती सेवा र कानुनी संरचनामा देखिएका कमजोरी तथा नेतृत्व विकासमा अवरोध पुर्याउने व्यवस्थाविरुद्ध आफूले स्पष्ट धारणा राखेको उनले बताए ।
अर्यालले निजामती सेवाले पछिल्ला वर्षमा हासिल गरेका उपलब्धिहरू पनि सार्वजनिक गरे। उनले भने, ‘वैदेशिक रोजगार प्रणालीलाई डिजिटल दायरामा ल्याउने, सेवा प्रवाह सहज बनाउने, सामाजिक सुरक्षा विस्तार, निजामती सेवा अस्पताल र इमिग्रेसन सुधार, सुशासन र व्यावसायिक वातावरण सुधारमा म्यासिभ र दिगो प्रयास गरिएको छ। यी उपलब्धि कुनै व्यक्तिको नभई सम्पूर्ण निजामती सेवाको सामूहिक प्रतिबद्धता हुन् ।’
उनी नागरिकले उत्तरदायित्व, पारदर्शिता, कार्यक्षमता र सहज सेवा चाहेको बताए । अर्यालले सुधारको साहस, न्यायपूर्ण निर्णय गर्ने इमान, नागरिकप्रतिको संवेदनशीलता र संस्थालाई अगाडि बढाउने दृढता बिना राज्य बलियो नहुने पनि बताए ।
मुख्यसचिव अर्याल २०४६ साल माघ ४ गतेदेखि सरकारी सेवामा हुनुहुन्थ्यो र ५८ वर्षे उमेरहदका कारण सेवा निवृत्त हुन लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया