काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सबै राजनीतिक दलहरू तयार भइसकेको बताएका छन् ।
मंगलबार नेकपा (एमाले) ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको विषयमा टिप्पणी गर्दै उनले अब ‘निर्वाचन हुँदैन कि’ भन्ने कुनै आशंका नरहेको स्पष्ट पारे ।
मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले राखेका प्रश्नको उत्तर दिँदै उनले दलहरूबाट आवश्यक वातावरण बनिसकिएको र सरकारले सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको जानकारी दिए ।
मन्त्री खरेलले भने, ‘निर्वाचन आयोग आफ्नो काम धमाधम अगाडि बढाइरहेको छ । महत्त्वपूर्ण प्रायः सबै राजनीतिक दलहरूले दर्ता पूरा गरिसकेका छन् । चुनावमा आउँदैनौ कि भन्ने आशंका भएका दलहरूले पनि आज दर्ता र नवीकरण अगाडि बढाइसकेपछि अब कुनै दुइमत छैन, सबै दलहरू निर्वाचनका लागि तयार छन् ।’
उनका अनुसार ८ लाखभन्दा बढी नयाँ मतदाता नामावली दर्ता भइसकेको र सुरक्षा निकायले निर्वाचन प्रयोजनका लागि विस्तृत योजना बनाइसकी स्थानीय तहसम्म पठाइसकेको छ ।
त्यस क्रममा मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार सरकारी कामकारबाही अघि बढाइरहेको दाबी पनि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया