रविसँग डीपीको एक घण्टा : सरकारको काम ‘वाच गर्नू’, गठबन्धनका लागि हतार नगर्नू

पार्टी सभापति रवि लामिछानेलाई भेट्न कार्यवाहक सभापति डोलप्रसाद अर्याल ललितपुरस्थित नख्खु कारागार पुगे । मंगलबार बिहान करिब ११ बजेतिर नख्खु कारागार पुगेका अर्यालले एक घण्टा भेटघाट गरे । सो क्रममा पार्टीको आन्तरिक जीवन, आगामी निर्वाचन, सहकारी प्रकरणमा आफूले भोगिरहेको कारबाही र पूर्ववर्ती सरकारले प्रतिशोध साँधेको समीक्षादेखि आगामी कार्यदिशाका विषयमा समेत छलफल भएको छ ।

सो क्रममा रविले डीपीसँग वर्तमान सरकारले आफ्नो मुद्दाको विषयमा किन चासो राखेन भन्ने जिज्ञासा राखे । भेटपछि लोकपथसँग कुराकानी गर्दै अर्यालले पूर्ववर्ती सरकारले आफूलाई राजनीतिक प्रतिशोध साँधेर कारागारसम्म पुर्‍याएको तर अहिलेको सरकारले त्यस विषयमा कुनै पनि धारणा किन नराखेको भन्दै जिज्ञासा राखेको बताए । साथै पूर्ववत सरकार निकटमा मान्छेहरु सहकारी ठगीमा मुछिए पनि क्लिन चिट दिइएको तर आफूलाई भने निरन्तर कारागारमा राखिएको भन्दै आपत्ति जनाएको अर्यालले बताए ।

‘पूर्ववत सरकारले राजनीतिक प्रतिशोध साँधेका कारण मलाई अनाहकमा कारागारमा राखिएको छ । सहकारीमा ठगी गरेर प्रमाणित भएका व्यक्तिहरुलाई पुरस्कृत गरेर बाहिर राखिएको छ । तर जो मान्छेको चाँही संसदीय छानबिन समितिबाट रकम हिनामिना गरेको देखिएन भनेको छ, त्यो मान्छेलाई कारागारमा राखेको छ । अहिलेको सरकारले त्यस विषयमा किन आफ्नो धारणा सार्वजनिक गर्दैन ?,’ प्रश्न गर्दै लामिछानेले भनेका थिए, ‘तपाईँहरुले सरकारसँग त्यस विषयमा कुराकानी गर्नुभएको छ कि छैन भनेर जिज्ञासा राख्नुभएको थियो । र हामीले अहिलेसम्म चाँही सरकारसँग त्यस विषयमा भन्दा पनि निर्वाचनको म्याण्डेट पाएर आएको सरकार भएको हुनाले निर्वाचनको विषयमा नै बढी केन्द्रित भयौँ, अब सभापतिज्यूले नै चासो राख्नुभएकाले अब छिट्टै त्यस विषयमा सरकारको धारणा के रहेछ बुझ्नेछु ।’

जेनजी आन्दोलनपछि रास्वपाका चर्चित नेताहरुले नै पार्टी छाडेका छन् । सुमना श्रेष्ठ, सन्तोष परियार लगायतले पार्टी छाडेको विषयमा समेत समीक्षा भएको अर्यालले बताए । जिम्मेवार नेताहरुले अझै पार्टीलाई मजबुत बनाउन लाग्नुपर्नेमा पार्टी नै छाडेर हिँड्दा पार्टीकै कारण आफूहरु समाजमा स्थापित हुन पुगेको कुरा भुलेको टिप्पणी रविको रहेको थियो ।

‘उहाँहरुलाई पार्टीले अत्यन्तै महत्वपूर्ण जिम्मेवारी दिएको र पार्टी निर्माणमा उहाँहरुबाट अपेक्षा गरिएको थियो । सभापतिका कारण पार्टी बनेको र पार्टीकै कारण समाजमा स्थापित भएको तर पार्टी र सभापतिलाई दुख परेको बेला छाडेर जानु चाँही सुखद कुरा रहेन । यस्ता कुराहरुमा पार्टीले चाँही गम्भीर रुपमा अध्ययन गर्नुहोला, हेर्नुहोला भन्नुभयो,’ रविको भनाईलाई उद्धृत गर्दै अर्यालले भने, ‘उहाँहरु जत्तिको नेताहरुले पार्टी छाड्नु हुन्थेन । जिम्मेवार पाएका साथीहरुले पार्टी निर्माणका लागि थप जिम्मेवारी बोधका साथ काम गर्नुपर्ने थियो तर त्यसो नभएकोमा दुखेसो पोख्नुभयो ।’

‘निर्वाचनका लागि सरकारलाई सहयोग गर्नू’

भेटका क्रममा लामिछानेले वर्तमान सरकारको मुख्य काम नै निर्वाचन गराउनु रहेको र सरकार निर्वाचन गराउने बाटोमा छ या छैन वाच गर्न निर्देशन दिए । सभापतिको निर्देशन अनुसार आफूहरुले कहाँ सहयोग गर्ने र कहाँ खबरदारी गर्ने निर्क्योल गरेको बताए । राजनीतिक दलहरुप्रतिको वितृष्णाका कारण वर्तमान सरकार बनेको स्मरण गराउँदै गैरदलीय सरकार भनिए पनि सरकारका मन्त्रीहरु भने पुनः राजनीतिक दल खोल्ने र राजनीतिक गतिविधि गर्ने विषय गम्भीर रहेकोतर्फ ध्यानाकर्षण गराएको र त्यसमा खबरदारी गर्न पार्टीलाई निर्देशन समेत लामिछानेको रहेको छ ।

‘खासगरी वर्तमान सरकार निर्वाचन गराउनका लागि बनेको हो । सरकार निर्वाचन गराउने बाटोमा छ कि छैन भन्ने नजिकबाट वाच गर्नुहोस् भन्ने उहाँको धारणा रहेको छ । सभापतिज्यूको निर्देशन अनुसार हामीले पार्टीलाई कहाँ सहयोग गर्ने र कहाँ प्रश्न गर्ने भन्ने कुरामा गम्भीर हुनुपर्छ । यो सरकारको मुख्य म्याण्डेट भनेको निर्वाचन गराउनु हो र यो सरकारले दाँयाबाँया जानु हुँदैन भन्ने कुरा गर्नुभयो । अर्को जेनजी आन्दोलनपछि गैरदलीय व्यक्तिहरुको सरकार बनेको भनिएको छ तर गैरदलीय पनि भन्ने अनि पार्टी दर्ता गर्नेदेखि लिएर राजनीतिक गतिविधि गर्ने कामहरु समेत भइरहेका छन्, त्यसमा तपाईँहरुले कसरी हेर्नुभएको छ र खबरदारी गर्नुभएको छ भनेर चासो राख्नुभयो,’ लामिछानेको भनाइलाई उद्धृत गर्दै अर्यालले भने ।

साथै अर्यालले आफूहरु उत्साहित रुपमा छलफल गरिरहेको जानकारी गराएका थिए । पार्टीको आन्तरिक राजनीतिक जीवनबारे अपडेट गराएका अर्याललाई रविले भने आगामी निर्वाचनले जनताले मत दिने उम्मेदवारको खोजी गर्न भनेका छन् ।

‘हामी निर्वाचनबारे निरन्तर बैठक बसेर छलफल गरिरहेका छौँ र समानुपातिकको लागि आवेदन खुला गरेर आह्वान पनि गरिराखेका छाँै । कार्तिक २२ गतेबाटै हामीले पब्लिकमा निवेदन आह्वान दिएका छाँै । उहाँलाई त्यो विषयमा पनि अपडेट गराएँ र उहाँले चाँही निर्वाचन केन्द्रित हुनुस्, निर्वाचन केन्द्रित हुनुस् भन्नुभयो । जनता हामीलाई मत दिन तयार हुनुहुन्छ, देशैभरी संगठन बनिसकेको र जनता पार्टीप्रति उत्साहित भइरहेको अवस्थामा जनताको मत जित्ने उम्मेदवार खोज्नुस् भन्नुभयो,’ उनले भने ।

‘गठबन्धनका लागि हतार नगर्नू’

डेब्यूमै राम्रो सिट जितेर चौथो राष्ट्रिय शक्ति बनेको रास्वपा आगामी निर्वाचनका लागि समेत तीव्र तयारीमा छ । ०७९ को निर्वाचनबाट प्राप्त शक्तिका कारण महत्वपूर्ण मन्त्रालयसहित सरकारमा सामेल भएको रास्वपाले सोही बेलाबाटै मिसन ०८४ अभियान बनाएर अघि बढेको थियो । पहिलोपटक निर्वाचनमा जाँदा नसोचेको सिट प्राप्त गरेको रास्वपाले अबको निर्वाचनमा भने परिस्थिति विचार गरेर अघि बढ्ने मनस्थिति बनाएको छ । रास्वपाले अन्य विचार मिल्ने शक्तिहरुसँग मिलेर अघि बढ्ने मनस्थिति बनाइरहँदा रविले भने हतार नगर्न भनेका छन् ।

‘निर्वाचनका लागि कहीँ एउटै चुनाव चिह्न लिएर जाने, कतै एलाइन्स गर्ने भन्ने कुरा चाँही पार्टीको केन्द्रीय समिति बैठक बसेर टुंगो लगाउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसो हुँदा सभापतिज्यूले पनि अहिले नै हतार नगरौँ केन्द्रीय समितिदेखि सचिवालय बैठकसम्म छलफल गरौँ, अनि मात्रै त्यसलाई टुंगोमा पुर्‍याउँला भन्नुभएको छ, अनि हामी यसमा काम पनि गरिरहेका छौँ, मिलेरै अघि बढ्ने वा अरु के हुने भन्ने चाँही अलि समय लाग्छ ।’

कारागारमा रविलाई सहज

सुविधाका हिसावले अहिले लामिछानेलाई कारागारमा थप सहजता पाएको अर्यालले बताए । यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकको निर्देशनमा लामिछाने बस्ने कोठा र भेट्ने स्थानमा अडियो रेकर्डसहितको सिसीटिभी राखिएको थियो । तर अहिले नयाँ जेलर आइसकेपछि त्यो सबै हटाइएको उनले बताए ।

‘पहिले मानवअधिकार नै हनन हुने गरी भ्वाइस नै रेकर्ड हुने सिसी क्यामेरा राखिएको थियो । अहिले चाँही त्यसलाई निकालिएको रहेछ,’ उनले भने, ‘पहिला त्यहाँ सिसी क्यामेरा थिएन, सभापति ज्यू त्यहाँ आइसकेपछि रमेश लेखकले नियतवस नै हामी भेट्ने, बस्ने ठाउँको दृश्य कैद हुने र आवाज रेकर्ड हुने गरी नै क्यामेरा राखिएको थियो तर अहिले भने हटाइएको पाएँ ।’

करिब १ महिना लामो समयपछि रविलाई भेट्न डीपी नख्खु कारागार पुगेका थिए । अन्य नेताहरुले भने लामिछानेलाई निरन्तर भेटिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?