काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले महिला र बालिकामाथि हुने ‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ को आज राजधानीमा शुभारम्भ गर्दै मन्त्री खरेलले महिला र बालिकामाथि हुने डिजिटल हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । यस वर्षको दिवसको विश्वव्यापी नारा सान्दर्भिक रहेको भन्दै उनले डिजिटल दुनियाँ अब दैनिक जीवनसँग घुलमिल भएको बताए ।
मन्त्री खरेलले प्रविधिले काम र सिकाइ सजिलो बनाउँदा पनि धेरै महिला र किशोरीका लागि यो क्षेत्र अझै जोखिमपूर्ण रहेको औँल्याए । उनले अनलाइन उत्पीडन, साइबर स्टकिङ, अनुमति बिना तस्बिरको प्रयोग, घृणा फैलाउने अभिव्यक्ति र ट्रोलिङले त्रास र धम्की सिर्जना गर्ने चेतावनी दिए ।
सञ्चार मन्त्रालयले सुरक्षित, समावेशी र सशक्त ‘डिजिटल इकोसिस्टम’ निर्माण गर्न लक्ष्य राखेको उनले बताए । उनले भने, ‘जब हाम्रो आधा जनसङ्ख्या अनलाइनमा सुरक्षित महसुस गर्दैनन्, तब हाम्रो डिजिटल प्रगतिलाई पूर्ण वा निष्पक्ष मान्न सकिँदैन ।’
मन्त्री खरेलले राष्ट्रिय साइबर सुरक्षा केन्द्रले जनचेतना अभिवृद्धि गर्दै आएको र हालै स्थापित राष्ट्रिय एआई सेन्टरले डिजिटल नेपाल निर्माणप्रति सरकारको प्रतिबद्धता देखाएको बताए ।
डिजिटल हिंसाविरुद्धको लडाइँ सरकार एक्लैले जित्न नसक्ने भन्दै उनले कानुनी र नीतिगत ढाँचालाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे । पीडितलाई न्याय दिलाउन र पीडकलाई जबाफदेही बनाउन साइबर कानुनको समीक्षा गरिने उनले जानकारी दिए ।
साथै, शिक्षा क्षेत्रसँग सहकार्य गर्दै पाठ्यक्रममा डिजिटल साक्षरता समावेश गर्ने, निजी क्षेत्र र नवप्रवर्तनलाई सुरक्षित प्लेटफर्म विकास गर्न प्रोत्साहन गर्ने, तथा तीन वटै तहका सरकार, संयुक्त राष्ट्रसङ्घ र नागरिक समाजसँग सहकार्य बढाउने योजना मन्त्री खरेलले प्रस्तुत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया