ओलीलक्षित गृहमन्त्रीको टिप्पणी : ‘निर्वाचन हुँदैन भन्नेलाई सरकारले कामबाट जवाफ दिन्छ’

लोकपथ
119
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य जिम्मेवारी सुशासन प्रवर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् ।

मंगलबार लुम्बिनी प्रदेश, भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले निर्वाचन नै सरकारको ‘मूल मन्त्र’ भएको बताएका हुन् ।

अर्यालले निर्वाचन गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न सरकारले आतुर रहेको दाबी गर्दै भने, ‘हामी कुनै व्यक्तिगत आकांक्षा वा लोभका लागि आएका छैनौँ । देशको विशिष्ट परिस्थितिमा पाएको जिम्मेवारी पूरा गर्न केन्द्रित छौँ ।’

एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने बताउँदै आएको प्रति प्रतिक्रिया दिँदै उनले भने, ‘निर्वाचन हुँदैन भन्नेहरुलाई सरकार आफ्नो काम र भूमिकाबाट जवाफ दिँदै छ। विभिन्न बाहाना देखाएर चुनाव रोक्ने प्रयास बेकार हुनेछ।’

गृहमन्त्री अर्यालले शान्ति र सुव्यवस्था कायम राख्न तथा निर्वाचनको वातावरण सिर्जना गर्न प्रदेश सरकारको भूमिका महत्त्वपूर्ण भएको पनि बताए । उनले निर्वाचन पूर्व, निर्वाचनको अवधिमा र निर्वाचनपछि प्रदेश सरकार सक्रिय रहन केन्द्रीय संयन्त्रसँग मिलेर कार्य गर्ने योजना रहेको जानकारी दिए ।

उनले विशेष अपरेशनमार्फत फरार कैदी बन्दी फिर्ता भइसकेको र लुटिएका हतियार पनि नियन्त्रणमा आएको उल्लेख गर्दै राजनीतिक दलहरूले औँल्याएका सुरक्षा चुनौतीहरूलाई समाधान गरेको बताए ।

गोष्ठीमा उनले लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय सुरक्षा योजना तयार पारेर कार्यान्वयनमा ल्याइएको र अन्य प्रदेशमा पनि यस्तो गोष्ठी आयोजना हुने जानकारी दिए। साथै, प्रहरीहरूलाई निर्धक्क भएर जिम्मेवारी पूरा गर्न र राजश्व चुहावट नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।

गृहमन्त्रीको भनाइले आगामी निर्वाचनलाई सहज र सुरक्षित रूपमा सम्पन्न गर्ने सरकारको तयारी र प्रतिबद्धता स्पष्ट देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?