रमेश लेखकको निर्देशनमा रविको निगरानीका लागि राखिएको सिसी क्यामेरा हटाइयो

लोकपथ
1.4k
Shares

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको निगरानीका लागि कारागारमा राखिएको सिसीटिभी क्यामेरा हटाइएको छ ।

सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रविको निगरानीका लागि अडियो रेकर्ड गर्न मिल्ने सुविधाको क्यामेरा राखिएको थियो । अहिले नयाँ जेलर आएपछि अडियो रेकर्डसहितको क्यामेरा हटाइएको रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले लोकपथलाई जानकारी दिए ।

अर्याल रविलाई भेट्न आज नख्खु कारागार पुगेका थिए । सो क्रममा आफूले हेर्दा यसअघि भन्दा वर्तमान सरकार आइसकेपछि कारागारको बसाइ सहज भएको महसुस भएको अर्यालले बताए ।

‘यसअघि भन्दा सभापतिजीको कारागार बसाइ सुविधाको हिसावले सहज रहेको पाएँ । पूर्ववर्ती सरकार रहँदा तत्कालीन गृहमन्त्री रमेश लेखकको निर्देशनमा उहाँ बस्ने र हामीसँग भेट्ने स्थानमा अडियो रेकर्डसहितको सिसीटिभी क्यामेरा जडान गरिएकोमा अहिले हटाइएको रहेछ,’ अर्यालले लोकपथसँग भने ।

पूर्ववर्ती सरकारले रविमाथि राजनीतिक प्रतिशोध साँधेको भन्दै रास्वपाले विरोध जनाउँदै आइरहेको छ ।

भेटका क्रममा लामिछानेले आफूमाथि यसअघिको सरकारले पूर्वाग्रह साँधेको र वर्तमान सरकार आफूमाथिको मुद्दाको विषयमा कुनै धारणा सार्वजनिक नगरेको विषयमा चासो राखेका थिए । साथै आगामी निर्वाचन केन्द्रित भएर पार्टीको काममा लाग्न समेत निर्देशन दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?