बागमती करिडोरमा स्मार्ट बत्ती र सीसीटीभी जडान गरिँदै, सुरक्षा सुदृढीकरणको तयारी

लोकपथ
77
Shares

काठमाडौं । बागमती नदी करिडोरलाई व्यवस्थित र सुरक्षित बनाउन गोकर्णदेखि बल्खुसम्म अत्याधुनिक स्मार्ट बत्ती र सीसीटीभी क्यामेरा जडान गर्ने तयारी थालिएको छ । 

करिडोर क्षेत्रमा बढ्दै गएको फोहोरमैला व्यवस्थापन समस्या, अनधिकृत गतिविधि र सुरक्षा चुनौतीलाई नियन्त्रण गर्न शहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आधुनिक सर्भिलेन्स सिस्टम स्थापना गर्न लागिएको हो ।

समितिले निर्माण व्यवसायी छनोटका लागि टेन्डर आह्वान गरिसकेको छ । परियोजनाअनुसार १२० थान तापक्रम, धूलो तथा पानी प्रतिरोधी, दिन–रात दुवै समयमा काम गर्ने अत्याधुनिक सीसीटीभी क्यामेरा जडान गरिनेछ । यी क्यामेराको सर्भर र मनिटरिङ युनिट काठमाडौं उपत्यकाको प्रहरी कार्यालयमा रहनेछ, जसका माध्यमबाट नदी किनारमा फोहोर फाल्ने तथा अवैध गतिविधि कडाइका साथ निगरानी हुनेछ ।

त्यसैगरी करिडोरका अँध्यारा क्षेत्र उज्यालो बनाउन ५६७ थान स्मार्ट सडक बत्ती, ४८ थान फ्लड लाइट र ६ थान हाइमास्ट फ्लडलाइट जडान गरिनेछ  । समितिले स्मार्ट लाइटिङ र सीसीटीभी प्रणालीले करिडोरको समग्र सुरक्षा, रात्रीकालीन गतिविधि, यातायात सरलता तथा वातावरणीय व्यवस्थापनमा उल्लेख्य सुधार ल्याउने विश्वास व्यक्त गरेको छ ।

यो प्रविधियुक्त प्रणालीले निरन्तर जारी बागमती सरसफाइ महाअभियानलाई थप प्रभावकारी बनाउने र करिडोर क्षेत्रमा अव्यवस्थित तथा आपराधिक गतिविधि नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?