नेप्सेमा ५० अंकको वृद्धि, जीवन बीमामा आकर्षण

लोकपथ
126
Shares

काठमाडौं । सोमबार सेयर बजारमा ५० अंकको वृद्धि भएको छ । सोमबार ५० दशमलव ४४ अंकको वृद्धि भएसँगै नेप्से २६५० बिन्दुमा पुगेको छ ।

सोमबार बजार खुल्ने बित्तिकै बढ्न थालेको बजार कारोबार बन्द हुँदासम्म ५० दशमलव ४४ अंकले वृद्धि भई वृद्धिलाई निरन्तरता दिएको छ । सोमबार समग्रमा नेप्से १ दशमलव ९४ प्रतिशतले वृद्धि भएको हो ।

यसअघि आइतबार पनि नेप्से ३९ दशमलव ९२ अंकले बढेर २६०० बिन्दु भेट्टाएको थियो । दुई दिनको लगातार वृद्धिले नेप्सेमा ९० अंकको सुधार ल्याएसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । सोमबारको वृद्धिसँगै नेप्से २६५० दशमलव ६६ अंकमा पुगेको छ ।

सोमबार बजारमा कुल ३३० कम्पनीका सेयर कारोबार भएका छन्, जसमध्ये २१५ कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएको छ । त्यसैगरी ५० अंकको वृद्धिमा पनि ३७ कम्पनीका सेयर मूल्यमा भने गिरावट आएका छन् । ६ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

सोमबार नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । सोमबार कुल १ करोड ४२ लाख ४ हजार भन्दा बढी कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम ७ अर्ब ५४ करोड रुपैयाँ भन्दा बढी पुगेको छ । यो रकम आइतबारको तुलनामा ७४ करोड ८७ लाख रुपैयाँले बढी हो । यसले बजारमा लगानीकर्ताहरू भित्रिन थालेको बुझिएको छ ।

जीवन बीमामा आकर्षण, अन्य समूहमा पनि हरियाली
सोमबारको कारोबारमा सबै समूहको परिसूचकमा हरियाली आएको छ । बजारमा सूचीकृत १३ वटै समूहको परिसूचकमा वृद्धि हुँदा जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । जीवन बीमा समूहमा ४ दशमलव ९४ प्रतिको वृद्धि भएको छ ।

त्यसैगरी उत्पादन तथा प्रशोधन समूहमा ३ दशमलव ७३ प्रतिशतको वृद्धि भएको छ भने होटेल तथा पर्यटन र निर्जीवन बीमा समूहको परिसूचकमा २ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । बैंकिङ, विकास बैंक, वित्त, लगानी, लघुवित्त लगायतका अन्य समूहहरूको परिसूचकमा पनि १ प्रतिशत भन्दा बढीले सुधार भएको छ ।

पाँच कम्पनीको सेयरमा सर्किट
सोमबारको कारोबारमा पाँच कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । भर्खरै आइपिओ निष्कासन गरी कारोबारमा आएको झापा इनर्जी, बन्दीपुर केबलकार, सागर डिस्टिलरी र श्रीनगर एग्रिटेकको मूल्यमा सर्किट लागेको छ । त्यसैगरी स्वस्तिक लघुवित्तको सेयर मूल्यमा पनि १० प्रतिशतको सर्किट लागेको छ ।

सोमबार होटेल एण्ड टुरिजमका सेयरहरूमा मूल्य वृद्धि भएको छ । जीवन बीमातर्फ सिद्धार्थ प्रिमियम इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पनि ८ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

यता भर्खरै आइपिओ निष्कासन गरी कारोबारमा आएको माविलुङ इनर्जीको सेयर मूल्यमा ४ दशमलव ४४ प्रतिशतले गिरावट आएको छ ।

कारोबार रकममा नेपाल लाइफ इन्स्योरेन्स अगाडि
सोमबारको कारोबारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कारोबारको आधारमा अग्र स्थानमा रहेको छ । यस कम्पनीको सोमबार २४ करोड ८१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको करिब २४ करोड रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यी कारोबारले जीवन बीमा र पुनर्बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?