स्वकीय सचिवले श्रीमतीलाई नियुक्ति दिएकोबारे बोल्यो प्रधानमन्त्रीको सचिवालय

लोकपथ
945
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरूलाई नियुक्त गरेको विषयमा मुख खोलेको छ । प्रधानमन्त्रीको सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै नियुक्तिमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रूपमा जोडिएको जनाएको छ । सचिवालयले कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको जिकिरसमेत गरिएको छ । 

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यसबाहेक अन्य नियुक्तिहरूमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रूपमा जोडिएको र कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको देखिएकोले त्यसो नगरिदिन हुन पनि अनुरोध छ ।’

विज्ञप्तिमा जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त कार्कीले मितव्ययिता, पारदर्शिता र जबाफदेहीताका सन्दर्भमा जिम्मेवार र संवेदनशील रही सोहीअनुरूपको आचरण र व्यवहार गर्दै आएको पनि उल्लेख छ । राज्यकोषमा कमभन्दा कम भार परोस् र छरितो रूपमा काम गर्न सकियोस् भनेर निकै कम जनशक्तिबाट प्रधानमन्त्रीको सचिवालय सञ्चालन हुँदै आएको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘कार्यविधिअनुसार ७ जना सल्लाहकार राख्न सक्ने दरबन्दी भए पनि हाल २ जना मात्र नियुक्त हुनुभएको छ । १९ जना विज्ञ कर्मचारी राख्न सक्ने दरबन्दी भए पनि ४ जना मात्र नियुक्त गरिएको छ, जसमध्ये एक जना अवैतनिक हुनुहुन्छ । स्वकीय सचिवालयमा ४१ जनाको दरबन्दी रहे पनि १४ जना मात्र कार्यरत हुनुहुन्छ । यी सबै गरी ६७ जनाको दरबन्दी रहेको र विगतका सरकारहरूले प्रायः ती सबैमा पदपूर्ति गरी आएकामा हाल सम्माननीय प्रधानमन्त्रीज्यूले अत्यन्त जरुरी र नगरी नहुने कामका लागि मात्र निकै कम जनशक्तिको अर्थात् २० जनाको मात्र सचिवालय बनाउनुभएको छ ।’

प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव श्रेष्ठले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव र नातेदार कमला श्रेष्ठलाई स्वकीय सहसचिवमा नियुक्त गरेको भन्दै आलोचना भइरहेको छ । संगीता र कमला असोज २ गते नियुक्त भएको जनाइएको छ । 

सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उनीहरूको नियुक्ति भएको हो । नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्त भएका थिए ।

सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखामा करारमा कार्यरत कर्मचारी आदर्श सुशीला कार्की प्रधानन्यायाधीश हुँदा पनि सर्वोच्च अदालतमा कार्यरत थिए ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले संगीता आफ्नी पत्नी रहेको स्वीकार गरे । नाता नियुक्तिबारे उनले भने, ‘नाता खोज्दै जाँदा त नेपालभर कोही न कोही नाता पर्छ होला नि, मैले नातेदार भनेर सबैलाई नियुक्त गरेको होइन । प्रधानमन्त्रीको सचिवालय संवेदनशील ठाउँ भएकाले प्रधानमन्त्रीको विश्वास र गोप्यताका लागि नजिकको मानिस नियुक्त गरेको हुँ । त्यसक्रममा पत्नीलाई सो जिम्मेवारी दिलाएको हुँ ।’

उनले नियुक्त भएका श्रेष्ठ थरका सबै मानिसहरू आफूले नै नियुक्त गरेको भनेर अफवाह फैलाइएको र सो काम एकदमै गलत भएको बताए । 

उनले प्रतिस्पर्धाबाट निजामती सेवामा प्रवेश गरेकाहरूलाई पनि आफूले नै नियुक्त गरेको भनी हल्ला चलाइएकोमा दुखेसो व्यक्त गरे । 

उता, नेपाल जेन–जी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेकी छन् । नातावाद र कृपावादलाई प्रोत्साहन हुने गरी प्रमुख स्वकीय सचिव श्रेष्ठले दिलाएका पारिवारिक नियुक्तिहरू तुरुन्तै खारेज गर्न पनि उनले माग गरेकी छन् ।

‘जेनजी विद्रोह रकमको भ्रष्टाचारविरुद्ध मात्र नभई नैतिक भ्रष्टाचार, नातावाद, कृपावादविरुद्ध पनि थियो । भाद्र २३ मा हामीले सुशासन, पारदर्शिता र जबाफदेहिताको पक्षमा नारा लगाएका थियौँ,’ बमले आज सोमबार सामाजिक सञ्जालमा लेखेकी छन्, ‘तर नागरिक सरकारको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले नातावाद र कृपावाद अँगालेर नैतिक भ्रष्टाचार गर्दै जसरी श्रीमतीसहित अन्य नातेदारलाई जेनजी विद्रोहकै बलमा जागिर लगाउने काम गरेका छन्, त्यो सरासर गलत भएको छ ।’

उनले संवेदनशील समयमा देशलाई लोकतान्त्रिक निकास दिनका लागि बनेको नागरिक सरकारले यतिखेर चौतर्फी आक्रमणको सामना गरिरहेको पनि उल्लेख गरेकी छन् । उनले भनेकी छिन्, ‘यस्तो संवेदनशील अवस्थामा बनेको सरकारको फाइदा उठाउँदै, नातावाद कृपावादलाई हाबी गराउन खोज्ने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जस्ता मानिसहरूको स्वार्थका कारण, परिवर्तनको लागि बगेको रगतको अपमान भएको छ, भदौ २३ मा ‘पारदर्शिता र जबाफदेहिता’ हाम्रो मूल मागमध्येको एक थियो । नागरिक सरकार पारदर्शी बन्दै नागरिकप्रति जबाफदेही हुनै पर्छ । आदर्शकुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्दै, नातावाद र कृपावादलाई प्रोत्साहन गरी उनले दिलाएका पारिवारिक नियुक्तिहरू तुरुन्तै खारेज गरियोस् । नागरिक सरकार सीमित व्यक्तिहरूको चंगुलमा फस्नुहुँदैन । सरकार बेलैमा सचेत होओस् ।’

उता, नेपाल जेन–जी फ्रन्टले पनि प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई तत्काल बर्खास्त गर्नसहित सरकारसमक्ष पाँच माग राखेको छ । श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्नै पत्नी र नातेदारहरू नियुक्ति गरेकोप्रति आपत्ति जनाउँदै फ्रन्टले ती सबैलाई बर्खास्त गर्न प्रधानमन्त्री कार्कीसँग माग गरेको हो । 

‘प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा आफ्नै श्रीमतीसहितका नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको भनी सार्वजनिक भएको समाचारप्रति नेपाल जेन–जी फ्रन्टको गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरुपयोग मात्र नभई सुशासन, नैतिकता, जबाफदेहिता र पारदर्शिताविरुद्धको प्रत्यक्ष प्रहार हो,’ जेन–जी फ्रन्टले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेन–जी विद्रोह नेपाली समाज र राजनीतिमा वर्षौंदेखि जरा गाडेका यी र यस्तै विकृतिविरुद्धको विद्रोह रहेको र यस प्रकरणले फेरि एकपटक राज्य संयन्त्रभित्रको विकृत अभ्यास उजागर गरेकाले नेपाल जेन–जी फ्रन्ट यस प्रकारका गतिविधिको घोर भर्त्सना गर्दछ । प्रत्यक्ष रूपमा जेन–जी विद्रोहको मर्म र यसको म्यान्डेटका विरुद्ध हुनेगरी भएको यस्तो गतिविधि पुनः नदोहोरियोस् भन्ने सुनिश्चितताका लागि नेपाल सरकार र प्रधानमन्त्री सुशीला कार्कीसमक्ष तत्काल निम्न मागहरू पूरा गर्न नेपाल जेन–जी फ्रन्ट जोडदार अपिल गर्दछ ।’

फ्रन्टले अघि सारेको पाँचबुँदे मागमा बुँदागतरुपमा भनिएको छ, ‘१. प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको तत्काल बर्खास्ती, २. निज श्रेष्ठले अनैतिक नियुक्ति दिलाएका परिवारका सदस्य र नातेदार सबैको नियुक्ति तत्काल खारेजी । ३. सुशासन र जबाफदेहिताको नाराका बलमा बनेको सरकारमा पुनः नातावाद र कृपावादमा आधारित नियुक्ति कसरी सम्भव भयो ? प्रधानमन्त्री कार्यालयका तर्फबाट तत्काल स्पष्टीकरणसहित सत्य तथ्य जानकारी । ४. प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवालयभित्र हुने नियुक्ति, दरबन्दी र भूमिकालाई अब उपरान्त पूर्ण पारदर्शी र मापदण्डमा आधारित बनाउने स्पष्ट नीति निर्माण र कार्यान्वयन । ५. प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवालयमा को को कुन कुन पदमा कार्यरत छन् ? सोको सम्पूर्ण विवरण सार्वजनिक रूपमा सूचना पाटी र वेबसाइटमा समेत राख्नुपर्ने कानुनी व्यवस्था गरी त्यसको कार्यान्वयन ।’ 

यस्तै, प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिवले आफन्तलाई नियुक्ति दिएको भन्दै जेनजी मुभमेन्ट नेपालले कार्की नेतृत्वको सरकारको आलोचना गरेको छ । जेनजी मुभमेन्ट नेपालले कार्की नेतृत्वको सरकारलाई अवज्ञा गर्न आह्वान गर्दै देशवासीलाई बहिस्कार गर्न आग्रहसमेत गरेको छ । मुभमेन्टले सरकार भ्रष्टाचार, पक्षपात र कुशासनमा गढिएको आरोप लगाउँदै विभिन्न मन्त्रीहरूमाथि गम्भीर आरोपसमेत लगाएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै जेनजी मुभमेन्ट नेपालले उर्जामन्त्री कुलमान घिसिङले ४३ करोड नोक्सानी गरेको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मालाई गैरकानुनी कर छुट दिएको तथा महान्यायाधिवक्ता सविता बराल भण्डारीले किशोरीहरूको डिम्ब बिक्री गरेको र गृहमन्त्री ओमप्रकाश अर्यालले काकालाई डीआईजी बनाउन सशस्त्र प्रहरीमा दरबन्दी थपेर संगठित दुराचारमा लागेको आरोप लगाएको हो ।

जेनजी मुभमेन्टले विद्रोहका आदर्श, सुशासनका लागि प्राण अर्पण गरेका शहीद घाइतेहरूसहित नेपाली जनताप्रति गम्भीर अपमानमा लाग्दा सरकारले नैतिकता र जनविश्वास दुवै गुमाएको जनाएको छ ।

‘अतः हामी सुशीला कार्कीलाई तत्काल पदबाट राजीनामा दिन र जेनजी विद्रोहको भावना तथा जनआकांक्षामाथि कुठाराघात नगर्न आह्वान गर्दछौँ,’ जेनजी मुभमेन्टले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सत्ता कु गरेर बनेको सुशीला कार्की र उनको मन्त्रिपरिषद्लाई सार्वजनिक रूपमा बहिस्कार गर्दै अवज्ञा गर्न समग्र देशवासीलाई आह्‌वान गर्दछौँ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?