माओवादी केन्द्रले काँग्रेससँग डिभोर्स नगरी एमालेसँग विवाह गर्‍यो : गजुरेल

काठमाडौं, २२ कात्तिक । नेकपा (क्रान्तिकारी माओवादी) को चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले निर्वाचनमा मोर्चाबन्दी हुँदै पार्टी एकताको तहसम्म पुग्ने माओवादी केन्द्र र एमालेको निर्णयप्रति कटाक्ष गरेका छन् ।

राजधानीमा बुधबार मोर्चाको चुनावी घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष गजुरेलले माओवादी केन्द्र र एमालेको मोर्चा वामपन्थीहरुको मोर्चा नै नभएको जिकिर गरे ।

‘वामपन्थी भनेको त प्रतिक्रियावादी सत्ता र शक्तिको विरोधी हुनुपर्छ,’ उनले प्रश्न गरे, ‘प्रतिक्रियावादी सत्तामा पनि बस्ने त्यसमै लुछाचुडी गर्ने अनि कसरी त्यो शक्ति वामपन्थी शक्ति हुन्छ ।’

उनले माओवादी केन्द्रले सत्ता स्वार्थका लागि बेलाबेलामा गठबन्धन तोड्ने गरेको प्रसंग उल्लेख गर्दै उनले भने, ‘एउटा विवाहितले अर्कोसँग विवाह गर्नका लागि पहिलोसँग सम्बन्ध विच्छेद गरेको हुनुपर्छ, माकेले त काँग्रेससँग सम्बन्ध विच्छेद पनि नगरीकन एमालेसँग विवाह गरेको छ । यो कानुनअनुसार पनि अवैध हुन्छ । अहिले माके–एमाले गठबन्धन त्यस्तै अवैध गठबन्धन हो ।’

उनले पहिले श्रीपेच लगाएका राजा फालेर गणतन्त्र ल्याएपनि अहिले टोपी लगाएका राजाहरु उत्पत्ति भएको टिप्पणी गर्दै यी शक्तिबाट जनताको पक्षमा कुनै काम हुन नसक्ने भएकाले आफूहरुले जनगणतन्त्र नआउन्जेलसम्म संघर्ष गर्ने उद्घोष गरे ।

अहिलेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि अहिलेको संविधानलाई नमान्ने क्रान्तिकारी र यही व्यवस्थामा रमाउने पश्चगामी गरी दुई प्रकारका घोषणापत्र आएको उल्लेख गर्दै गजुरेलले जनताले अग्रगमनको पक्षलाई नै जिताउने दाबी गरे ।

क्रान्तिकारी माओवादीका वरिष्ठ नेता समेत रहेका गजुरेलले भने, ‘अन्य दलहरुले घोषणापत्रमा सबै कुरा गर्छौ भनेर लेखेका छन्, किनभने पूरा गर्नुपर्दैन । हामीले त्यस्ता कुनै आश्वासन दिएका छैनौं, हामी हाम्रा परिवर्तनका एजेन्डालाई लिएर जनतामाझ जान्छौं ।’

वैद्य माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चाले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फ प्रतिनिधि सभामा १ सय १०, प्रदेश सभामा २ सय १ र प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ९२ जना उम्मेदवार उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?