कांग्रेस, एमाले र माओवादीकै कारण मुलुक चरम भ्रष्टाचार र परिणामहीन अवस्थामा पुग्यो : जनार्दन शर्मा

लोकपथ
238
Shares

काठमाडौं । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले आफ्नै क्रान्तिकारी छवि जोगाउन नसक्दा मुलुक चरम भ्रष्टाचार, विकृति र परिणामविहीन अवस्थातर्फ धकेलिएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय एकता घोषणा सभालाई सम्बोधन गर्दै शर्माले यी दलहरू लामो समय सत्तामा बसे पनि सामाजिक विभेद, प्रशासनिक सुधार र विकासका आधारभूत विषयमा आवश्यक प्राथमिकता दिन नसक्दा राज्य संरचना नै कमजोर बन्दै गएको दाबी गरे ।

उनले भने, ‘कांग्रेस ४५ वर्ष, एमाले ३६ वर्ष र माओवादी केन्द्र करिब १७ वर्ष सत्तामा रहँदा पनि जातीय, क्षेत्रीय, लैंगिक र वर्गीय गरी हजारौँ वर्ष पुरानो सामाजिक उत्पीडन सम्बोधन गर्न सकेनन्। नीतिगत तथा प्रणालीगत पुनःसंरचना गर्नुको सट्टा मौजुदा शक्ति संरचनाको दुरुपयोग गर्दै मुलुकलाई थप बर्बादीतर्फ धकेले ।’

शर्माले भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहीनता र राजनीतिकरणका कारण राज्यका संस्था तथा प्रणालीहरू नै कमजोर बनेको आरोप लगाए । संविधान निर्माणमा दलीय स्वार्थ हाबी हुँदा जनताको म्यान्डेट सम्बोधन हुन नसकेको उनको भनाइ थियो ।

उनले दलहरू दृष्टिविहीन राजनीति, कर्मचारीतन्त्रमा हस्तक्षेप र सांस्कृतिक भ्रष्टिकरणका कारण पनि असफल बनेको उल्लेख गर्दै सबै राजनीतिक शक्तिहरू दीर्घकालीन सुधार, पारदर्शिता र उत्तरदायित्वमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए ।

शर्माले आम नागरिकले अझै प्राप्त गर्न नसकेको अधिकार सुनिश्चित गर्न प्रगतिशील लोकतान्त्रिक पार्टी पूर्णतः प्रतिबद्ध रहेको समेत घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?