काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पनि पदबाट राजीनामा दिएका छन् । रास्वपाबाट अलग्गिनेको संख्या दिन प्रतिदिन बढ्दै जाँदा विष्टले काठमाडौं जिल्ला कार्यसमितिको सभापति पदबाट राजीनामा दिएका हुन् । पार्टीको प्रचलनअनुसार उनले बागमती प्रदेश समितिमा राजीनामा बुझाएका हुन् ।
उनले आफूले सभापतिबाट राजीनामा दिएको तर पार्टी भने नछाडेको बताएका छन् ।
उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको तर्फबाट काठमाडौं– १० बाट उम्मेदवार बनेका थिए ।
परम्परागत ठूला पार्टीको विकल्प दिने भन्दै रवि लामिछानेको नेतृत्वमा २०७९ असार ७ गते गठित रास्वपामा एकपछि अर्को पहिरो गइरहेको छ । पहिलो महाधिवेशनसमेत नहुँदै संस्थापक नेताहरूले नै रास्वपा छाड्न थालेका छन् । पछिल्लो समय सभापतिले जेलबाटै पार्टी चलाउन खोजेको भन्दै पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले भदौ २३ र २४ को जेनजी आन्दोलनलगत्तै रास्वपा छाडेकी थिइन् । लगत्तै केन्द्रीय सदस्य डा.प्रभात अधिकारी र हरि भट्टले पनि राजीनामा दिए ।
विघटित प्रतिनिधिसभाको प्रमुख सचेतकसमेत रहेका सन्तोष परियारले पनि कात्तिक २८ गते रास्वपा छाडे । परियार अहिले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेपाली कम्युनिस्ट पार्टीमा नगएका माओवादी केन्द्रका पूर्व उपमहासचिव जनार्दन शर्मासँग मिलेर नयाँ दल बनाउने तयारीमा छन् ।
यस्तै, पार्टी छाड्नेको लहरमा रास्वपाका संस्थापक केन्द्रीय सदस्य गीता रेग्मी र महेश्वर घिमिरे पनि छन् । केही समयअघि निर्वाचन आयोग प्रमुखको जिम्मेवारीमा रहेका डा.अतिन्द्र दाहाल र पूर्वअनुशासन आयोग प्रमुख डा.भरतमणि देवकोटाले पनि रास्वपा छाडिसकेका छन् ।
पूर्वमहामन्त्री डा.मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउनुपर्ने भन्दै वक्तव्य निकालेका कोशी प्रदेश सभापति राजेश तिमिल्सिनाले पनि पार्टी छाडिसकेका छन् ।
२०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ बाट उठेका रमेश खरेल पनि अहिले रास्वपामा छैनन् । यस्तै, प्रशिक्षण विभाग प्रमुख रहेका अनिलकेशरी शाह पनि रास्वपामा सक्रिय छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया