खानेपानी मन्त्रालयद्वारा अनुसन्धान र नवप्रवर्तनका लागि साझेदारसँग छलफल

लोकपथ
49
Shares

काठमाडौं । खानेपानी मन्त्रालयले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तन  प्रवर्द्धन गर्न विभिन्न विकास साझेदार र विशेषज्ञहरूसँग पहिलो पटक छलफल कार्यक्रम आयोजना गरेको छ ।

मन्त्रालयअन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रले वेल्ट हङ्गर हिल्फे (डब्लु एचएच) को सहयोगमा आयोजना गरेको छलफलमा संयुक्त राष्ट्रसंघीय निकाय, विकास साझेदार, शैक्षिक तथा प्राज्ञिक संस्था, नागरिक संगठन र सरसफाइ विशेषज्ञहरूले सहभागिता जनाएका थिए।

डब्लु एचएचका वास विज्ञ बिजु डङ्गोलले स्वागत मन्तव्य व्यक्त गर्दै तराई-मधेसमा भूमिगत पानीको अवस्था र पहाडी क्षेत्रमा मूल पानीको अवस्थाबारे अध्ययन भइरहेको जानकारी दिए ।

केन्द्रका कार्यकारी निर्देशक ई। रामकुमार श्रेष्ठले केन्द्रको विस्तारित कार्यक्षेत्र अनुसार प्रमाणमा आधारित र कार्यान्वयनमुखी अनुसन्धान तथा नवप्रवर्तन प्रवद्र्धन गर्न विकास साझेदारसँग सहकार्य गर्न छलफल आयोजना गरिएको बताए । उनले भने, ‘विकास साझेदारहरूसँग उपलब्ध अनुसन्धान क्षेत्र र वित्तीय अवसरहरू पहिचान गरी सम्भावित सहकार्यका क्षेत्रहरू खोज्न पहिलो चरणको छलफल उपयोगी भएको छ ।’

काठमाडौं विश्वविद्यालय लगायतका शैक्षिक संस्थाका प्रतिनिधिहरूले पनि खानेपानी र सरसफाइका विविध विषयमा अनुसन्धान भइरहेका भए पनि विकास साझेदारहरूसँग सहकार्य भएमा अनुसन्धानलाई अझ व्यापक बनाइने बताए ।

छलफलमा उठेका विषयलाई दस्तावेजमा रूपान्तरण गरी सबैसँग साझा गरिने र दोस्रो चरणमा कार्ययोजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले थपे, ‘अनुसन्धानका लागि बजेट केन्द्रमा विनियोजन त गरिन्छ, तर न्यून हुन्छ। सरकार र विकास साझेदारबीचको सहकार्यले अनुसन्धानलाई वास्तविक रूपमा अघि बढाउन सहयोग पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?