काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु संकटको गम्भीरतालाई ध्यानमा राख्दै देशहरूलाई निष्पक्ष र सन्तुलित सम्झौतामा तुरुन्त पुग्न अपिल गरेका छन् ।
ब्राजिलको अमेजन शहर बेलेममा जारी ३०औँ संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनको क्रममा पत्रकार सम्मेलनमा उनले प्रतिनिधिमण्डलहरूलाई सहमतिमा पुग्न जोड दिएका हुन् । सम्मेलन नोभेम्बर १०–२१ सम्म चल्नेछ र हाल वार्ता अन्तिम चरणमा पुगेको छ ।
गुटेरेसले जोखिममा परेका समुदायहरूले अब जलवायु परिवर्तन न्यूनिकरणको लागि पर्खन नसक्ने भन्दै तत्काल कदम चाल्न आवश्यक रहेको बताए । उनले २०१५ को पेरिस सम्झौतापछि गरिएको प्रगति पर्याप्त नभएको पनि उल्लेख गरे ।
महासचिवले पारिस्थितिक प्रणालीको संरक्षण र लक्ष्य हासिल गर्न वित्तीय योगदानको महत्वमा जोड दिए । उनले २०३० सम्ममा वन फँडानी रोक्ने र उल्ट्याउने कार्य अनिवार्य रहेको बताए । साथै, विकसित देशहरूले २०३५ सम्म वार्षिक कम्तीमा ३०० अर्ब अमेरिकी डलर जलवायु कार्यका लागि सुरक्षित गर्न नेतृत्व गर्नुपर्ने र त्यसपछि प्रति वर्ष १.३ ट्रिलियन डलर सम्म पुग्ने स्पष्ट मार्गसहित अगाडि बढ्न जरुरी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया