काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न महाधिवेशन भाँड्ने प्रयास भइरहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको महाधिवेशन भाँड्ने प्रयास भइरहेपनि त्यसलाई सफल हुन नदिने चेतावनी समेत दिए ।
एमालेका महाधिवेशन यही मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ । अध्यक्ष ओलीले सो महाधिवेशन भव्यताका साथ सम्पन्न हुने दाबी समेत गरे । उनले सो महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा सम्पन्न गर्नुपर्ने बताए । उनले फराकिलोपन र फराकिलोपनका साथ सो महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा सम्पन्न गर्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।
उनले भने, ‘एमालेको महाधिवेशन अत्यन्तै भव्यताका साथ सम्पन्न हुनेछ । र म देख्दैछु, सुन्दैछु । त्यसलाई भाँड्नका लागि विभिन्न प्रयासहरु भइरहेका छन् । म सबैलाई चेतावनी भनौँ कि चेतावनी भन्ने शब्द अलि चर्को हुन्छ भने सबैलाई म भन्न चाहन्छु–त्यस प्रकारको सोच नै नबनाउनुस् । नेकपा एमालेको महाधिवेशन भाँडने सोच नबनाउनुस् । एमाले आफ्नो महाधिवेशन गर्छ । आफ्ना ठाउँमा बसेर गर्छ । यस देशका लागि, यस देशको रक्षा, यसको सार्वभौमसत्ता, त्यसको स्वाधिनता, यसको स्वतन्त्रता, यसको भौगोलिक अखण्डता, यसका जायज हितहरु, राष्ट्रिय हितहरु र यसको स्वाभिमानहरुलाई माथि उठाएर गर्छ । किन टाउको दुखाउने ? त्यसमा टाउको दुख्छ भने हाम्रो भन्नु केही छैन । तर महाधिवेशन अत्यन्तै भव्यताका साथ सम्पन्न हुनेछ । अरु थप कुरा मैले अहिले केही भनिरहनु पर्दैन । नेपाली जनताले नेकपा एमालेको महाधिवेशनलाई आउँदो मंसीर २७, २८ र २९ गते हुने महाधिवेशनलाई एउटा ऐतिहासिक महाधिवेशनको रुपमा स्थापित गर्नेछन । र, नेकपा एमाले यस कुरा सजग छ । अब म चाहन्छु–यस महाधिवेशनलाई हामी सबैले एकताको महाधिवेशन बनाएर लैजाऔ । फराकिलो मन, फराकिलोपनका साथ यस महाधिवेशनलाई लैजाऔं । मेरो आग्रह छ । विभिन्न सामाजिक संजालहरुमा केही भ्रमहरु फिजाइएको देख्छु । त्यस भ्रमहरुमा नलाग्नका लागि म साथीहरुलाई आग्रह गर्न चाहन्छु । कोही पनि नलागुन् यस्ता कुरा ।’
अध्यक्ष ओलीले एमालेले महाधिवेशनमार्फत मुलुकको राष्ट्रियता र स्वाभिमानलाई अझै उचाईमा पुर्याउने दाबी समेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया