मिथिलाञ्चलमा विवाहपञ्चमी महोत्सव सुरु

लोकपथ
0
Shares

काठमाडौं । मिथिलाञ्चलको सबैभन्दा ठुलो उत्सव विवाहपञ्चमी महोत्सव सुरु भएको छ । बिहीबारबाट महोत्सव सुरु भएको हो । जनकपुरधाम क्षेत्रमा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरुको चहल पहल देखिएको थियो । 

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन विधि सम्पन्न भएको छ । नगरदर्शनलाई लिएर जानकी मन्दिरमा पूजा आराधनाका लागि श्रद्धालु भक्तजनहरू पुगेका थिए । 

भगवान् राम र लक्ष्मण पहिलो पटक प्राचीन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन विधि गर्ने गरिन्छ । 

नगर दर्शन विधिमा राम लक्ष्मणको प्रतीकको रूपमा रहेको दुई बालकलाई नगर दर्शन गराइएको थियो । सोही अवसरमा मिथिलाको राजधानीमा मंगलगान समेत गाइएको थियो । 

नगर दर्शन विधिका लागि जनकपुरधाम स्थित जानकी मन्दिरकै प्रांगणमा कृत्रिम बजार बनाइएको थियो । सो बजारमा मुरही, कचरी, चिया, पान, मखान, खेलौना, मिठाई, मिथिला चित्रकला, कपडा, सिन्दुर, टिकली आदिका पसलहरु कृत्रिम रूपमा निर्माण गरिएका थिए । 

राम लक्ष्मणको प्रतीकको रूपमा रहेका दुई किशोर बालकलाई रातो कार्पेट ओछ्याएर कृत्रिम बजार घुमाइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?