रेमिटका नाममा हुण्डी कारोबार, प्रभु म्यानेजमेण्टका सहायक लेखा प्रमुख महाजु पक्राउ

लोकपथ
336
Shares

काठमाडौं । रेमिट कारोबारको आवरणमा अवैध रूपमा हुण्डी कारोबार गरेको कसुरमा प्रभु म्यानेजमेण्ट प्रालिका पूर्व शेयर धनी तथा हालका सहायक लेखा प्रमुख हेम कुमार महाजु पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काभ्रेको पनौती नगरपालिका–८ घर भई ललितपुरको गोदावरी नगरपालिका–३ टौखेल बस्ने ५१ वर्षीय महाजुलाई बुधबार पक्राउ गरेको हो ।

प्रभु म्यानेजमेन्ट प्रालिको नाममा रहेको सिटिजन्स बैंकको खातामा विभिन्न व्यक्तिहरूको नामबाट शंकास्पद रूपमा १०,००,००० रुपैयाँ नबढ्ने गरी ९,९९,५०० रूपैयाँ समेतका दरले पटक पटक शंकास्पद रूपमा रकम जम्मा भएको थियो ।

रेमिट कारोबारको क्रममा प्रभु म्यानेजमेण्ट प्रालिले रेमिट रकम भुक्तानी मात्र गर्नु पर्नेमा प्रस्तुत कारोबारमा एकै दिनमा पटक पटक शंकास्पद रकम जम्मा भएको देखिएको, प्रभु म्यानेजमेन्ट प्रालिको नाममा सञ्चालन भएको सिटिजन्स बैंकको खातामार्फत रेमिट कारोबारको आवरणमा अवैध रूपमा नेपालमा विप्रेषण बापत प्राप्त हुने रकम हुण्डी मार्फत प्राप्त गरी हिसाब मिलान गरेको देखिएको सीआईबीको अनुसन्धानले देखाएको छ ।

उक्त कार्यमा संलग्न रहेको कसुरमा पक्राउ परेका महाजुमाथि ठगी तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुरमा कारोबार अघि बढाइएको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?